काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि चिनियाँ राजदूत यु होङले शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छिन्।
गृह मन्त्रालयमा भएको भेट नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा हुनसक्ने सहयोगका विषयमा केन्द्रित रहेको थियो।
आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लागेकी राजदूत होङलाई गृहमन्त्री थापाले नेपालमा सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए।
राजदूत होङले आफ्नो कार्यकालमा नेपाल र चीनबीच सम्बन्ध विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै गृहमन्त्री थापाले यसबीचमा नेपाल र चीनबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएकोमा खुसी व्यक्त गरे।
भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण, तालिम र सशस्त्र प्रहरी बलको तालिम केन्द्र निर्माणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिए। उनले आगामी दिनमा पनि चीनबाट प्राप्त हुने सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे।
मन्त्री थापाले नेपाल ‘एक चीन नीति’प्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरे।
भेटमा राजदूत होङले आफ्नो नेपाल बसाइ सुखद रहेको भन्दै स्वदेश फर्किएपछि पनि नेपालको विकासका लागि सक्दो पहल गरिरहने प्रतिवद्धता व्यक्त गरिन्।
राजदूत होङले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहनेमा आश्वस्त पारिन्।
भेटमा होङले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन्।
राजदूत होङको कार्यकालमा ‘वान बेल्ट वान रोड’ (ओबिओआर)मा नेपालले हस्ताक्षर गरेको, नेपाल र चीनबीच यातायात तथा व्यापार सम्झौता लगायतका महत्वपूर्ण कार्य भएको विषयमा पनि भेटमा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।