काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले महासमितिको बैठकमा धर्मका विषयमा व्यापक उठान हुने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा विधान मस्यौदाबारे भइरहेको छलफलमा उपस्थित कोइरालाले धर्मबारे आफ्नो धारणा यथावत् रहेको सञ्चारकर्मीलाई बताएका हुन्।
कोइरालाले यो विषय केन्द्रीय समितिको बैठकभन्दा बढी महासमिति बैठकमा जोडदार रूपमा छलफल हुने बताए। उनले भने, ‘धर्मबारे यहाँ के उठिरहेको छ र? धेरै कुरा महासमिति बैठकमा उठ्छ। धेरै अप्ठ्यारो किसिमले उठ्छ।’
उनले संविधान निर्माणको क्रममा धर्म निरपेक्षता नराख्न कांग्रेसले पहल गरेको पनि सुनाए। संविधान निर्माणपछि वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भएको संवाद स्मरण गर्दै उनले भने, ‘मैले रामचन्द्र पौडेलजीसँग पनि कुरा गरेको थिएँ। उहाँले एमाले र माओवादीले नमानेको बताउनु भएको थियो।’
‘हिन्दू राष्ट्र हुनुपर्छ’ भन्ने कांग्रेसको विचार नभएको जनाउँदै उनले धर्म स्वतन्त्र हुने जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।