काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी 'एनसेल'को कर असुलीका सम्बन्धमा संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा अर्थ मन्त्रालयले जवाफ पेस गरेको छ। समितिले कर असुलीका सम्बन्धमा भएका प्रगति सम्बन्धमा सरकारसँग जवाफ माग गरेपछि मन्त्रालयले ४० बुँदे प्रगति पेस गरेको हाे।
७ पुस २०७२ मा एनसेल प्रालिको सेयर होल्डर 'रेनोल्ड होल्डिङ्स'को ८० प्रतिशत सेयर 'टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्स'ले मलेसियाको 'आजियटा ग्रुप बेर्हाद'लाई बिक्री गरेको थियो। करिब एक खर्ब ४० अर्ब रुपैयाँमा उक्त सेयर खरिद–बिक्री भएको थियो। त्यसमा करिब ४० अर्ब रुपैयाँ पूँजीगत लाभकर लाग्ने अनुमान तत्कालीन अवस्थामा गरिएको थियो।
तर, समयमा कर नतिरहेकाले त्यसयता शूल्क, जरिवानासहित त्यस्तो लाभकर करिब ७० अर्ब रुपैयाँ पुगेको दाबी ठूला करदाता कार्यालयको छ। त्यसमध्ये करिब २२ अर्ब रुपैयाँ कर एनसेलले भुक्तानी गरिसकेको छ।
यसबीचमा आजियटाले दुई पटक गरी लाभांसबापतको करिब २४ अर्ब रुपैयाँ नेपाल बाहिर लगिसकेको छ।
'आयकर ऐन, २०५८' को दफा ५७ बमोजिम लाभकर निर्धारण गर्ने व्यवस्था छ। साेबमाेजिम एनसेलकाे सम्पत्ति र दायित्व निर्धारण (डिडिए) गर्न परामर्शदाता छनोटका लागि आशयपत्र दर्ता गराएका दुई कम्पनीको मूल्यांकन भइरहेको जानकारी मन्त्रालयले समितिलाई गराएको छ।
त्यस्तै, एनसेलको २० प्रतिशत सेयर हिस्सा रहेको स्थानीय साझेदार निरजगोविन्द श्रेष्ठले आफ्नो स्वामित्वको सेयर 'सुनिभेरा प्रालि'लाई बिक्री गर्दा अपुग देखिएको लाभकर ११ अर्ब ८७ करोड रुपैयाँको सम्बन्धमा विवादका बीच सर्वोच्च अदालतमा विचाराधीन रहेको जानकारी अर्थले समितिलाई गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।