काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको बचाउ गरेका छन्।
जनअपेक्षाअनुसार काम नभएको स्वीकार गर्दै आलोचना भइरहँदा अध्यक्ष दाहालले ९ महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को कार्य सम्पादन गरेको भन्दै सरकारको बचाउ गरेका हुन्। उनले अब सरकार जनताको चासो र चिन्तालाई सम्बोधन गर्नेतर्फ केन्द्रित रहेको दाबीसमेत गरे।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतसँगको डुबान समस्या समाधान गर्नु, चीनसँग पारवहन सम्झौता गर्नु, रेल सेवा सञ्चालनका लागि दुबै मुलुकसँग समझदारी गरेर अघि बढ्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै त्यतापट्टि ध्यान दिन पनि सरकारका आलोचकहरुलाई आग्रह गरे।
अध्यक्ष दाहालले चुनावमा गरिएको प्रतिवद्धता ४ वर्ष भित्र पूरा गर्ने संकल्प पनि कायमै रहेको स्पष्ट पारे। सरकारले धेरै ठूलो काम गरिरहे पनि त्यतातिर ध्यान पुग्न नसकेको अध्यक्ष दाहालको भनाइ छ।
अध्यक्ष दाहालले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था संविधानमै ग्यारेन्टी गरेकाले अब त्यो समस्या हल हुँदै जाने विश्वास पनि व्यक्त गरे। उनले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारी पाउने नागरिकको हकलाई सुनिश्चित गरेको उल्लेख गर्दै ती अधिकार प्राप्त नभए न्यायको खोजीमा अदालत जान पाउने व्यवस्था ऐनमै गरिएको पनि स्मरण गराए।
अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउन वैज्ञानिक खोज तथा अनुसन्धानको क्षेत्रमा विशेष चासो राख्ने विषयमा पनि राजनीतिक नेतृत्वमा समस्या नरहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।