मोरङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस धनीहरुकै पार्टी भएको बताएका छन्। मोरङ क्षेत्र नम्बर ३ ले आयोजना गरेको अगुवा तथा निर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस गरिब जनतालाई धनी बनाउने पार्टी भएकोले कांग्रेस धनीहरुकै पार्टी रहेको बताए।
कम्युनिस्टहरुले जनतालाई सधै गरिब बनाएर भोट बैंकको रुपमा प्रयोग गर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसले तयार पारेको सामाजिक सुरक्षा कार्यक्रम ल्याएर आफैंले कल्पना गरेको जस्तो गरी नाटक गरेको आरोप उनले लगाए। प्रधानमन्त्रीले सामाजिक सुरक्षा कार्यक्रम आफूले ल्याएको भन्नु बेहुला र बेहुली तयार भइसकेपछि पार्टी प्यालेस मालिकले आफूले विवाह गराइदिएको भने जस्तै भएको उनको भनाइ थियो।
यो सरकार बाँड्ने काममा मात्र लागेको र सरकारी ढिकुटी बढाउने काममा नलागेको उनको आरोप छ।
'अहिले नेपालमा कम्युनिस्टले मौका पाएको बेला हो तर त्यो मौकाको दुरुपयोग गर्नु यो सरकारको दुर्भाग्य हो। बिडम्बना नै भन्नुपर्छ, बोल्नुपर्ने प्रतिपक्षी दलको नेता बोल्दैनन र नबोल्नुपर्ने प्रधानमन्त्री बोलेको बोल्यै गर्छन्,´ , उनले भने, `तर केपी ओलिको विरुद्धमा बोल्न सोच्नुपर्छ भन्ने कार्यकर्ता नै उनको विरुद्धमा मोर्चाबन्दीमा लागेका छन्। त्यसले पनि बताउँछ प्रधानमन्त्रीको अवस्था के छ भनेर।´
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।