काठमाडौं– गत १ भदौमा राजस्व अनुसन्धान विभागले एक व्यापारिक फर्मका सञ्चालक दम्पतीविरुद्ध झन्डै पौनै ३ अर्ब रुपैयाँ बिगो मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्यो।
विभागले कर छली गरेको अभियोगमा हिमालयन कार्गोका सञ्चालक दम्पती विनोदकुमार गुप्ता र मधुकुमारी गुप्ताविरुद्ध बिगो र जरिवानासहित २ अर्ब ७२ करोड रुपैयाँको मागदाबीसहित मुद्दा दायर गरेको थियो।
राजस्व चुहावट मुद्दामा विभागले हालसम्म दायर गरेको यो सबैभन्दा ठूलो मुद्दा हो। विभागको अनुसन्धानले उक्त फर्मले ५४ करोड ४२ लाख रुपैयाँ कर छली गरेको भेटिएको थियो।
व्यापारिक क्षेत्रमा हुने करछलीलाई सामान्य घटनाका रुपमा व्याख्या गर्न त सकिन्छ, तर यो घटनाले एउटा व्यापारीले राज्य संयन्त्रलाई धोका दिई कसरी करौडौं कर छल्छन् भन्ने देखाएको छ। उसो त करिब ८ वर्षअघि आन्तरिक राजस्व विभागले नक्कली भ्याट बिल बनाएर ६ अर्ब रुपैयाँभन्दा बढी कर छली गरेको तथ्य नै सार्वजनिक गरेको थियो।
गुप्ता दम्पतीको कर छलीको उक्त घटनाको अनसन्धानमा विभागले मुद्दाको विश्लेषण गर्नमात्रै ७२ पेज खर्चेको छ।
उनै गुप्ता दम्पतीसमेत संलग्न रहेको अर्को एक प्रकरणमा पनि २२ जनाविरुद्ध १० करोड २० लाख रुपैयाँको मुद्दा अदालतमा दायर भएको छ।
सरकारले वार्षिक औसत २० प्रतिशतका दरले राजस्व वृद्धिको लक्ष्य लिँदै आएको छ। अझै पनि सरकारले राजस्वको दरभन्दा पनि दायरा विस्तारलाई प्रमुख लक्ष्य रहेको दोहोर्याउँदै आएको छ। तर, ठूलो हिस्सा बराबरको कारोबार अझै पनि राजस्वको दायरामा आउन सकेको छैन। दायरामा आएको राजस्व पनि चुहावट हुने गरेको छ। त्यसलाई यो घटनाले थप प्रस्ट पारेको छ।
कारोबार करौडौं, कर ५ हजार
विभागले गरेको अनुसन्धानले मधुकुमारीको नाममा दर्ता भएको हिमालयन कार्गोले लामो समय अत्यन्त न्यून कर तिरेको तथ्य खुल्यो। उक्त कम्पनीले आफूलाई साना करदाताका रुपमा घोषणा गरी आर्थिक वर्ष (आव) २०६५/०६६ देखि २०७१/०७२ सम्ममा वार्षिक ५ हजार रुपैयाँमात्र कर तिरेको विभागले अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ। जबकि उसको वार्षिक कारोबार नै करौडौं रुपैयाँ बराबरको थियो।
त्यस्तै, विभागले अदालतमा दायर गरेको मुद्दाको अभियोगपत्रमा उक्त फर्मले २ वर्ष त सरकारलाई कर नै नबुझाएको उल्लेख गरेको छ। फर्मले आव ०७२/०७३ देखि ०७४/०७५ सम्म कर नतिरेको विभागले जनाएको छ।
उक्त फर्मले १९ लाख रुपैयाँ आम्दानी देखाएर वार्षिक ५ हजार रुपैयाँमात्र कर तिरेको विभागको दाबी छ। तर, विभागको टोलीले अनुसन्धानका क्रममा ६४ लाख रुपैयाँको ‘रिसिभ’ रसिद नै फेला पारेको थियो।
यो घटनाले केही ठूला फर्मले आफ्नो यथार्थ कारोबार झुक्याएर र फर्जी बिल बनाएर ठूलो हिस्सा राजस्व छली गरिरहेका घटनालाई प्रतिविम्बित गरेको छ।
वर्षौंदेखि करोडौं कर छली, सरकार बेखबर
कुनै पनि आर्थिक कारोबार गर्ने फर्म तथा व्यक्ति करको दायरामा आउनुपर्छ भन्ने करको मान्यता छ। नेपालमा वार्षिक ५० लाख कारोबार गर्ने व्यवसाय अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुनुपर्ने व्यवस्था छ। सेवाको कारोबार गर्नेका हकमा भने यस्तो सीमा २० लाख रुपैयाँ छ। भन्सार र आयकर त अनिवार्य नै भइहाल्यो।
हिमालयन कार्गोले भने वर्षौंदेखि कर छली गर्दै आएको दाबी विभागको छ।
विनोदकुमार गुप्ता भारतीय नागरिक हुन्। उनका बाबुले हिमालय कार्गो नेपाल नामक फर्म दर्ता गरेर रक्सौलमा बसी नेपालमा वस्तु आयात गर्दै आएका थिए। उनी तत्कालीन अवस्थामा भारतीय दूतावास निकट व्यक्ति थिए। उनले पनि निकै कम कारोबार देखाएर न्यून कर बुझाउँदै आएको अनुसन्धानबाट खुलेको छ।
उनको मृत्यु भएपछि पनि केही वर्ष उनकै नाममा फर्म चलिरह्यो।
त्यसको केही वर्षपछि मधुकुमारी चौधरीका नाममा नयाँ फर्म दर्ता भयो, हिमालय कार्गोका नाममा। मधुकुमारी भने नेपाली नागरिक हुन्।
त्यसपछि गुप्ता दम्पतीले सोही कार्गोमार्फत कारोबार गर्दै आए, तर राज्यलाई करै नतिरी वा तिरेको खण्डमा पनि अत्यन्त कम। समग्र अवस्थालाई हेर्दा उनीहरूले यथार्थ कर विवरण नै बुझाएनन्।
महालेखा परीक्षक कार्यालयको ५५औं वार्षिक प्रतिवेदनअनुसार अझै पनि करिब ३० प्रतिशत करदाताले कारोबारको विवरण नै पेस गर्दैनन्।
देखाउने एउटा, गर्ने अर्को
छोटो अवधिमा गुप्ता दम्पतीले कुल करिब १० अर्ब रुपैयाँ कमायो। उनको प्रायः सबै वाणिज्य बैंकमा खाता देखिएको छ। ती बैंकमा मात्रै करिब १० करोड रुपैयाँ मौज्दात रहेको विभागको अनुसन्धानले देखायो। उनले काठमाडौं लगायतका स्थानमा घरजग्गा समेत जोडेका छन्।
एक त उनले कारोबारको यथार्थ विवरण नै पेस गरेनन्। अर्को उनले ‘ट्रान्सपोर्ट’का नाममा भन्सार छलेर ठूलो परिमाणमा वस्तु आयात गरेका थिए।
‘ट्रान्सपोर्ट’बाटै यति धेरै कमाउन कुनै पनि हालतमा सम्भव थिएन। अहिले पनि एउटा ट्रक वीरगन्जबाट काठमाडौं ल्याउँदा एक ट्रिपमा अधिकतम १ हजारभन्दा बढी कमाउन सम्भव छैन।
गुप्ताले भने भारतबाट किस्ताबन्दीमा व्यापारीको सामान ठेक्कामा लिई भन्सार छलेर ल्याउने गरेका थिए। उनले गलत कागजात तयार गरेर, भन्सार नतिरी, न्यून बिजकीकरण लगायतका माध्यमबाट कर छली गर्दै आएका विभागको अनुसन्धानले देखाउँछ।
भन्सारमा अहिले पनि यस्तो गतिविधि रोकिन सकेको छैन। विभागकै अनुसार हाल सबैभन्दा धेरै कर छली भन्सारमा नै हुन्छ। दैनिक ठूलो परिमाणमा वस्तु आयात हुने तर सोअनुरुपको कडाइ हुन नसक्दा अधिकतम मात्रामा भन्सार छली भइरहेको दाबी विभागको छ।
केही समयअघि वीरगन्जमा फेला परेको नक्कली स्टिकर र नेपालगञ्जमा भन्सार छली गरेर ल्याइएको ट्रकको केसमा पनि उनै गुप्ताको संलग्नता देखिएको छ।
केही दिनभित्रै विभागले भन्सार छलीका सामानको अर्को मुद्दा पनि अदालतमा दायर गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।