भैरहवा– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा कायम रहने बताएका छन्।
बिहीबार सिद्धार्थ उद्योग वाणिज्य संघद्धारा भैरहवामा आयोजित ‘लुम्बिनी राष्ट्रिय महोत्सव’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हाल कायम रहेका प्रदेशका राजधानीहरुलाई अन्यत्र सार्दा धैरै समस्या हुने भएकोले कायम रहेकै स्थानमा निरन्तरता दिने बताएका हुन्।
उनले हाल कायम रहेका अधिकांश प्रदेशका राजधानी परिवर्तन गर्न दबाव/सुझाव आएपनि तत्कालका लागि सम्भव नरहेको बताउँदै अन्यत्र सार्दा पूर्वाधार निर्माणदेखि अन्य समस्या झेल्नुपर्ने बताए।
‘अहिले कायम रहेका स्थानमा प्रदेश राजधानीका लागि थुप्रै पूर्वाधारहरु बनिसकेका छन्, हाल कायम राजधानीहरु सार्दा जनतामाझ विवाद बढ्नेदेखि लिएर धेरै समस्या उत्पन्न हुन्छन्,’ उनले भने, ‘त्यसैले अघिल्लो सरकारले तोकेकै स्थानमा नै ५/१० वर्षसम्म राजधानी कायम राख्दा राम्रो हुन्छ।’
उनले राजधानी तोक्ने विषयको अन्तिम निर्णय भने प्रदेशसभाको अधिकारको विषय रहेको पनि तर्क गरे।
अध्यक्ष प्रचण्डले प्रदेश ५ को राजधानीको नामकरण ‘लुम्बिनी प्रदेश’ राखेमा कसैको आपत्तिको विषय नहुनेसमेत जिकिर गरे। ‘लुम्बिनी सबै क्षेत्र, वर्ग, धर्म, समुदायको आस्थाको केन्द्र हो, लुम्बिनीको नामबाट प्रदेशको नामकरण गर्दा सबैको गरिमा बढ्छ।’, उनले भने, ‘लुम्बिनी सबैले गर्व गर्नसक्ने नाम हो, यो नाम न्यायपूर्ण छ।’
उनले लुम्बिनीमा शान्तिको खोजीमा सबै धर्म, वर्ग, समुदायको आगमन हुने भएकोले लुम्बिनीलाई ‘विश्व शान्ति क्षेत्र’को रुपमा विकास गर्नुपर्ने बताए।
उनले सरकारले केही नगरेको भन्ने विषयमा टिप्पणी गर्दै ऐन नियम र कानुन निर्माणमा समय खर्चिनु परेकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकारे। उनले कमी भएको विषयलाई सुधार गर्दै जाने र गरेका राम्रा कामलाई समर्थन गर्नुपर्ने आवश्यकतासमेत औंल्याएका थिए।
वर्तमान सरकार भारत र चीनसँगको सम्बन्ध विस्तारमा केन्द्रित रहेको बताउँदै मुलुकको हितमा काम गर्ने पनि प्रचण्डले स्पष्ट पारे।
महोत्सव सुरु हुनुपूर्व भैरहवाको देवकोटा चोकदेखि विभिन्न झाँकीसहितको र्याली निकालिएको थियो। र्याली नगरका विभिन्न भाग परिक्रमा गरी मेलास्थल पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।