काठमाडौं– सत्तारुढ संघीय समाजवादी फोरम नेपालको महाधिवेसन बैसाख अन्तिम साताका लागि प्रस्ताव गरिएको छ।
काठमाडौंको तीनकुनेस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको राजनीतिक समितिको बैठकले केन्द्रीय महाधिवेसन २०७६ साल बैसाख २८ र २९ गतेका लागि प्रस्ताव गरेको हो। अध्यक्ष उपेन्द्र यादवले बैठकमा महाधिवेसन बैसाखमा गर्नका लागि प्रस्ताव राखेका थिए।
महाधिवेसननका साथै अन्य राजनीतिक विषयहरूमा निर्णय गर्न राजनीतिक समितिले मंसिर २२ गते ११ बजे केन्द्रीय समितिको बैठक बोलाउने पनि निर्णय गरेको छ। केन्द्रीय समितिको बैठक ललितपुरको बालकुमारीमा बस्नेछ।
केन्द्रीय समिति बैठकमा महाधिवेसनका साथै सरकारमा पार्टीको सहभागीताको समीक्षा, संविधान संशोधनको माग, प्रदेश कमिटीहरू गठन, सदस्यता नवीकरणलगायतका एजेण्डामाथि छलफल हुने फोरमले जनाएको छ।
राजनीतिक समितिको बैठकमा अध्यक्षसमेत रहेका उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले सरकारमा हालसम्म पार्टीका तर्फबाट भए गरेका काम र निर्णयहरूका विषयमा जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।