काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आशंकामा पक्राउ परेका कञ्चनपुरकै प्रदीप रावलको बयानमा शंका गर्ने ठाउँ देखिएको सिआइबी स्रोतले बताएको छ।
पक्राउपछि सार्वजनिक अपराध मुद्दामा अदालतबाट म्याद थप गरी महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएका रावलमाथि बुधबार राति प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत बयान लिएका थिए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रावललाई मंगलबार पक्राउ गरेको थियो।
उनको बयानमा केही शंका गर्नुपर्ने ठाउँ देखिए पनि बलियो प्रमाण भने प्राप्त भएको छैन। रावलको डिएनए रिपोर्ट आइनसकेकाले प्रहरीले उनलाई हिरासतमै राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। यद्यपि यसभन्दा अघि पनि रावललाई प्रहरीले शंका गरेर सोधपुछ गरेर छाडेको थियो।
निर्मला पन्तको हत्या हुनु र उनी भारत जानुमा समयसमेत मिलेकाले प्रहरीले त्यसबेलै शंका गर्दै सोधपुछ गरेर उनलाई छाडेको थियो। मामाघर भारत भएका रावल नेपाल-भारत निरन्तर ओहोरदोहार गरिरहने व्यक्ति हुन्। लागुऔषध दुर्व्यसनी उनी लागुऔषध ल्याउनकै लागि पनि भारत जाने गर्थे।
रावलको बयानमा केही शंका गर्नुपर्ने भनिए पनि निर्मलाको बलात्कार र हत्यामा उनी संलग्न हुन सक्ने प्रमाण प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन।
निर्मलाको हत्या भएको ४ महिना बितिसक्दा समेत अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। साउन १० गते हराएकी उनी साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। थुप्रै समितिहरु गठन भएर अनुसन्धान गरिए पनि अहिलेसम्म हत्याराको नजिक प्रहरी पुग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।