ad

भ्रष्टाचार मुद्दामा पूर्व आइजिपी मोतीलाल बोहरालाई सर्वोच्चले दियो सफाइ

नेपाल लाइभ

Nepal Live

काठमाडौं- भ्रष्टाचार आरोप लागेका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सर्वोच्च अदालतले सफाइ दिएको छ। 

बोहाराको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले कुनै अकूत सम्पत्ति आर्जन नगरेको ठहर गरेको हो। न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले बोहोरालाई बिहीबार सफाइ दिएको हो।

विशेष अदालतले अवैध सम्पत्ति जोडेको अभियोगमा डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी ५३ लाख ६२ हजार बराबर असुल हुने र १ डेढ वर्ष कैद हुने फैसला सुनाएको थियो।

२०६१ साउन २९ गते अख्तियारले बोहराविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

तथ्यमा प्रवेश नगरी न्यायाधीशहरु भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर राणाको इजलाशले २०६४ जेठ १३ गते उनलाई सफाइ दिएको थियो। 

त्यसविरुद्ध सरकारले पुनरावेदन गरेपछि पुन: उक्त मुद्दा विशेष अदालत फर्केको थियो। विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की र न्यायाधीशहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलाशले २०६८ चैतमा दोषी ठहर हुने फैसला सुनाएको थियो। सर्वोच्चले उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै सफाइ दिएको हो।

बोहराको सम्पत्तिमध्ये २ करोड ३८ लाख रुपैयाँ अवैध देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। यसमध्ये ९० लाख रुपैयाँ अवैध देखिएको विशेष अदालतले ठहर गरेको थियो।

प्रहरी प्रमुख भएका बेला खरिद गरेको घरजग्गा तथा विभिन्न बैङ्कमा रहेको सम्पत्तिको स्रोत नखुलेको भन्दै अदालतले दोषी ठहर गरेको हो। बोहरा २०४९ सालदेखि २०५३ सम्म प्रहरी महानिरीक्षक भएका थिए। यसअघि बोहराको मुद्दा विशेष अदालतबाट सम्पत्तिको स्रोत खुलाउनका लागि हदम्यादको आधारमा खारेजीमा परेको थियो। तर सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश अनुपराज शर्मासमेतको इजलासले भ्रष्टाचारको मुद्दामा हदम्याद नलाग्ने भन्ने फैसला सुनाएपछि त्यसै आधारमा फेरि ब्युँतिएको थियो। 

उक्त मुद्दामा विशेषवाट दोषी ठहर भए पनि कम बिगो र सजाय गरेको भन्दै सरकारले २०६९ मंसिर २९ गते पुनरावेदन गरेको थियो। सरकारको पुनरावेदन पछि बोहरा आफै पनि २०७० जेठ १९ गते  सर्वोच्च पुगेका थिए। अख्तियारले पूर्व आइजिपी बोहराले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति आफन्तहरु कला बोहोरा र जोत्सा बोहोराको नाममा लुकाएको दाबी गरेको थियो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने