जनकपुर– प्रदेश २ को प्रदेशसभाबाट पछिल्लो ११ महिनामा विभिन्न १६ वटा विधेयक पास भएका छन्। फागुन ३ मा गठन भएको प्रदेश सरकारले अहिलेसम्म विभिन्न २४ वटा विधेयक दर्ता गराएको छ। त्यसमध्ये १६ वटा पास भइसकेको प्रदेश सभा सचिवालयले जनाएको हो।
अहिलेसम्म प्रदेश आर्थिक कार्यविधि विधेयक ०७४, मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सुविधा सम्बन्धी विधेयक, प्रदेश सार्वजनिक लिखत प्रमाणीकरण, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सेवा सुविधा सम्बन्धी विधेयक पारित भइसकेका छन्।
प्रदेश विनियोजन, मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी, प्रदेशसभा पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी, गाउँ, नगर र जिल्ला सभा सञ्चालनसम्बन्धी विधेयक पारित भएका छन्।
यस्तै, नीति आयोग गठन, प्रदेश विनियोजन, आर्थिक, प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन, प्रदेश प्रहरी, प्रदेश विपद् व्यवस्थापन र आकस्मिक कोष सञ्चालन तथा करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक पारित भइसकेका छन्। मदरसा शिक्षा बोर्ड गठन, दलित सशक्तिकरण, प्रदेश विद्युत, सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक सवारी तथा यातायात व्यवस्थापन विधेयक भने छलफलका लागि समितिमा पठाइएको छ।
अहिले भने प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ। प्रदेशसभाको सोमबारको बैठकले सर्वसम्मत रूपमा जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता दिन दबाब दिँदै सार्वजनिक महत्वको प्रस्ताव पारित गरेपछि सभामुख सरोजकुमार यादवले अर्को सूचना प्रकाशित नहुन्जेल प्रदेशसभा बैठक स्थगित गरिएको घोषणा गरेका थिए।
प्रदेश सरकारले समयमा ‘बिजनेस’ उपलब्ध नगराउँदा सभाको बैठक स्थगित भएको हो। ‘बिजनेस अभाव तथा यहीबीचमा परेको रामजानकी विवाहपञ्चमी महोत्सवका कारण पनि केही दिनका लागि बैठक स्थगित गरिएको हो,’ प्रदेशसभा सचिवालयका उपसचिव तथा प्रवक्ता रञ्जित यादवले बताए।
प्रवक्ता यादवका अनुसार प्रदेशसभामा अहिले खासै ‘बिजनेस’ छैन । ‘भएका अधिकांश बिजनेस सभाबाट पास भइसकेका छन् । केही बिजनेस बृहत् छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ,’ यादवले भने, ‘पर्याप्त बिजनेस हुन्थ्यो भने २÷४ दिन अझै बैठक बस्थ्यो होला ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।