एजेन्सी– श्रीलंकाली अदालतले महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीको भूमिका निर्वाह नगर्न निर्देशन दिएको छ। संसदबाट विश्वासको मत लिन नसके पनि राजापाक्षले प्रधानमन्त्रीको हैसियतमा काम गर्दै आएको भन्दै रिट निवेदन परेपछि अदालतले यस्तो निर्देशन दिएको हो। गत महिना दुई पटकसम्म राजापाक्षले संसदमा विश्वासको मत जित्न सकेका थिएनन्।
सोमबार न्यायाधीश प्रितिपदामान सुरासेनाकाे एकल इजालाशले राजापाक्ष र उनका मन्त्रीहरूले पद नछोडे देशले ठूलो क्षति व्यहोर्ने बताउँदै उनलाई प्रधानमन्त्रीको भूमिकाबाट बाहिर निस्कन अादेश दिएको हो। आदेशमा डिसेम्बर १२ मा अदालतमा न्यायाधीशहरूको बेन्च बैठक बसी यो विषयमा सुनुवाइ गर्ने उल्लेख छ।
श्रीलंकाका अधिकांश सांसदहरूले राजापाक्षविरुद्ध सरकारमा रिट दायर गरेका थिए।
श्रीलंकाली संसदमा रहेका २ सय २५ सांसदमध्ये १ सय २२ जनाले राजापाक्षलाई राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीका रुपमा गरेको नियुक्तिका विरुद्ध भोट दिएका थिए। गत नोभेम्बर १४ र १८ मा संसदमा भाेटिङ भएकाे थियाे। तर, पूर्व राष्ट्रपतिसमेत रहेका राजापाक्षले संसदको निर्वाचनलाई अस्वीकार गरेका छन्।
उनले संसदमा उठेको आवाजलाई सभामुखले चासो नदिएको आरोप लगाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।