म्याड्रिड– स्पेनको क्याटलोनियाको स्वतन्त्रताको लागि भन्दै अभियान चलाएका दुई नेताले यहाँको जेलमा शनिबारदेखि भोक हडताल सुरू गरेका उनीहरूका वकिलले जनाएका छन्।
स्वतन्त्रता आन्दोलनका प्रभावशाली नेता जोर्डी सान्चेज र क्याटलोनियाका पूर्व सरकारका मन्त्री जोर्डी टुरूलले जेलमा नै आफ्नो स्वतन्त्रताको माग सम्बोधनका लागि भोक हडतालमा उत्रिएका वकिल जोर्डी पिनाले बताए। जेलमा बसेर आफ्नो आन्दोलनबारे जनचेतना फैलाउने भन्दै उनीहरुले भोक हडतालको थालनी गरेका हुन्।
वकिल पिनाले भने, ‘मैले यो बाटो लिन सुझाव दिएको होइन। यो मेरा ग्राहकको निर्णय हो र उनीहरूलाई मेरो पूर्ण सहयोग रहनेछ।’
पिनाले जारी गरेको एक विज्ञप्तिमा भोक हडतालमा उत्रेका दुई नेताले स्पेनी संवैधानिक अदालतले आफूलाई गैरकानुनी रूपमा जेलमा राखिएको दाबीसहित यूरोपेली मानवअधिकार अदालतमा जानबाट रोकेको दाबी गरिएको छ। जेलमा नै राखिएका अन्य ५ नेताले भोक हडतालमा भाग लिने वा नलिने भन्ने विषयमा आफूलाई थाहा नभएको उनले स्पष्ट पारे।
स्पेनको सर्वोच्च अदालतले गत अक्टोबरमा एक आदेशमार्फत १८ पूर्व क्याटलोनियाली पृथकतावादी नेताविरुद्धको मुद्दामा सुनुवाई अघि बढाउन भनेको छ। अभियोजनकर्ताहरूले क्याटलोनियाको स्वतन्त्रताका लागि जनतालाई उत्तेजित पारेको र राष्ट«घाती निर्णयहरू गरेको आरोपमा २५ जनालाई कम्तिमा २५ वर्षको जेल सजाय हुनुपर्ने दाबीसहित उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो।
उनीहरूको मुद्दामा सन् २०१९को सुरुमा सुनुवाइ हुने बताइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।