कालेबुङ– अक्टोबर १३ मा वर्न्सवेगमा भएको घटनाबारे विमल गुरुङले मुख खोलेका छन्। बुधबार गुरूङले भ्वाइसक्लिप सार्वजनिक गर्दै सो दिन भएको घटना बङ्गाल पुलिसले तयार पारेको षडयन्त्रमात्र रहेको बताएका छन्।
घटनाबारे पुलिसका कुरामात्रै बाहिर आएकाले अन्योलता बढिरहेको थियो।
‘न त त्यहाँ हाम्रो क्याम्प थियो, न त हामीले हातहतियार बोकेका थियौं, गुरुङले भनेका छन्, 'यी सबै बङ्गालले तयार पारेको षडयन्त्र हो, मलाई फसाउन रचिएको षडयन्त्र हो।’
गुरुङले तथाकथित घटनामा पुलिसले पुलिसलाई मारेर उनलाई फसाउने रणनीति तयार पारेको दाबी गरेका छन्। गोलीबारी पनि पुलिसले रचेको कपोलकल्पित घटनामात्र रहेको उनले बताएका छन्।
‘मैले अगणतान्त्रिक आन्दोलन गर्ने थिएँ भने पहिलेबाट नै गर्ने थिएँ, हामीले गणतान्त्रिक बाटो रोजेका हौ,’ गुरूङले भनेका छन्, ‘विमल गुरूङ र जिएलपीबाट हतियार भेटेको कुरा सबै झुटो हो, केएलओले आत्मसमर्पण गरेरको हतियार देखाएर विमल गुरूङलाई फसाउने काम गरिएको हो, जङ्गलबाट ननिस्कियोस् भनेर गरिएको प्लान हो।’
उनले अक्टोबर ३० मा पहाड आउने कुरा फेरि दोहोऱ्याएका छन्। ‘म मेरो ज्यानको पर्वाह गर्दिनँ, मैले आउँछु भनेर बचन दिएको छु, त्यो पुरा गर्छु नै,’ उनले भनेका छन्, ‘मेरो गणतान्त्रिक आन्दोलनलाई बदनाम गर्न बङ्गालले धेरै षडयन्त्र रचेको छ, केन्द्रले यसलाई मध्यनजर गर्नेछन्।’
उनी अक्टोबर ३० मा पहाड आउँछ भनेर नै बङ्गालले यस्तो षडयन्त्र गरेको बताउँदै सबैलाई निश्चिन्त बस्न अनुरोध गर्दै भनेका छन्, ‘म निश्चितरूपमा पहाड आउनेछु। जातिलाई नष्ट गर्ने काम हुँदैछ, यस्तोमा बाँचेर काम गर्नुपर्छ। जनता आत्तिनु हुँदैन।’
बङ्गाल सरकारले सिआरपीको नाममा सताउने, लुट्ने, हातपात गर्ने, कुटपिट गर्ने काम गरिरहेको र चारैतिरबाट घेरो हालेर उनलाई मार्न बङ्गालले ठूलो ‘प्लान’ गरेको बताएका छन्। भनेका छन्, ‘बङ्गालले मलाई मास्न पुरै प्लान गरेको छ। दुइचार जनाले गद्दारी गरे पनि म पहाड आएर उनीहरूको सबै प्रयास असफल बनाउनेछु।’
गोर्खाल्याण्ड भएपछि आफू कुनै पनि पदमा नबस्ने उनले बताएका छन्।
‘म कसैको शीर झुकाउने काम गर्दिनँ, यो मेरो व्यक्तिगत लडाईँ होइन। मैले मेरो कर्तव्य पूरा गर्नुपर्छ, त्यही गर्दैछु। सङ्घसंस्था, राजनैतिक दल सबै एक भएर लडौं, राज्य भएपछि तपाईँहरूले नै गोर्खाल्याण्ड चलाउनुहोस्। म जातिको उन्मुक्तिको निम्ति नै लडिरहेको छु। बङ्गालले हाम्रो आन्दोलनलाई अगणतान्त्रिक बताएर सँधैको लागि मुद्दा दबाउने कुटनीति गरिरहेको छ, जनता सतर्क बस्नुपर्छ।’, गुरूङले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।