काठमाडौं– नेपाली फुटसल टिमले पहिलो अन्तर्राष्ट्रिय सहभागितामा निराशाजक प्रदर्शन गरेको छ।
इरानमा यही साता सम्पन्न एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालले खेलेका तीनै खेलमा फराकिलो अन्तरको हार बेहोर्यो। छनोटमा नेपालले ३ खेलमा २८ गोल खादा ४ गोल गर्न सक्यो।
पहिलो खेलमा नेपाललाई उज्वेकिस्तानले १४–१ ले पराजित गरेको थियो। नेपाली फुटसल टिमको यो पहिलो आधिकारिक खेल थियो। पहिलो आधिकारिक खेलमा फराकिलो अन्तरले पराजित भए पनि नेपालले पहिलो अन्तर्राष्ट्रिय गोल गरेको थियो। नेपालका लागि कप्तान सुरज राउतले २२ मिनेटमा गरेको गोल नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल बन्न पुग्यो।
दोस्रो खेलमा किर्गिस्तानसँग ५–० गोल पराजित भएपछि नेपाल छनोटबाट बाहिरिएको थियो। नेपाललाई तेस्रो खेलमा तुर्केमिनिस्तानले ९–३ गोलले पराजित गरेको थियो। नेपालका लागि सुरज राउत, निर्मल गुरुङ र नवीन लामाले गोल गरेका थिए।

तेस्रो खेलमा सुधारिएको खेल प्रदर्शन गरेको नेपालले २–० को अग्रता जोगाउन सकेन। नवीन लामाले तेस्रो मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए। आठौं मिनेट निर्मल गुरुङले नेपालको अग्रता दोब्बर बनाए। लगत्तै सौरभ मगरले आत्मघाती गोल गरेपछि नेपाललाई घाटा पर्यो।
छनोटमा मध्य एसियाको समूह 'ए'मा नेपालसहित उज्वेकिस्तान, किर्गिस्तान र तुर्केमिनिस्तान थिए। तीनै खेलमा विजयी उज्वेकिस्तान र दुई खेलमा जित हात पारेको किर्गिस्तान सन् २०१८ मा चाइनिज ताइपेइमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट भए। च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ।
नेपाली टिम
गोलकिपर– अनिस श्रेष्ठ, सुमितकुमार आले
डिफेन्डर– राज शाही, सौरभ मगर, अमित तामाङ
मिडफिल्डर– अरुज सिंह, नवीन लामा, विनोद गुरुङ, मणीकुमार लामा, अभय राना
फरवार्ड– सुसन श्रेष्ठ, संजोग महर्जन, निर्मल गुरुङ, सुरज राउत
प्रशिक्षक– राकेश श्रेष्ठ
सहायक प्रशिक्षक– राजेश खड्गी र विष्णु गुरुङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।