म्याड्रिड – युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब टोटनह्यामले १–१ गोलको बराबरी खेलेका छन्।
डिफेन्डर राफेल भारानले विपक्षी खेलाडीको क्रस रोक्ने क्रममा २९ मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि रियल खेलमा १–० ले पछि पर्यो। ४३ मिनेटमा टोटनह्यामका सेर्जे अउरियरले टोनी क्रुसलाई फल गरेपछि रियलले पेनाल्टीको अवसर पायो। प्राप्त अवसरमा क्रिस्टियानो रोनाल्डोले गोल गरेर खेललाई १–१ को बराबरीमा ल्याए। समूह 'एच' मा रियल र टोटनह्यामले समान ७–७ अंक जोडेका छन्।

लिगको समूह 'ई' को खेलमा इंग्लिस क्लब लिभरपुलले स्लोभेनियन क्लब एचके मारिबोरलाई ७–० ले पराजित गरेको छ। लिभरपुलको जितमा फिर्मिनो र सलाहले २–२ गोल गरे। काउटिन्हो, ओक्लेस चाम्बर्लियन र एलेक्जेन्डर अर्नोल्डले १–१ गोल गरे। जितपछि लिभरपुलले समूहमा ५ अंक जोडेको छ।

लिगको समूह 'एफ' को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले इटालियन क्लब नापोलीलाई २–१ ले पराजित गरेको छ। सिटीका लागि रहित स्टर्लिङले ९ मिनेट तथा ग्राबियल जेससले १३ मिनेटमा गोल गरे। नापोलका डिवाराले ७३ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। समूहमा सिटीको यो लगातार तेस्रो जित हो। सिटी ९ अंक सहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको शख्तर डोनेट्सको ६ तथा नापोलीको ३ अंक मात्र छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।