पोखरा– महानगरको नाममा रहेका ३ वटा फोहोर उठाउने गाडी निजी कम्पनीले प्रयोग गरिरहेको खुलेको छ। नगरको फोहोर संकलनका लागि महानगरले दुई निजी कम्पनीसँग २०७० सालमा गाडी उपलब्ध गराउने गरी सम्झाैता गरेकाे थियाे। सम्झौताको म्याद सकिएको २ वर्ष बितिसक्दा पनि हालसम्म पनि उनीहरुले नै गाडी प्रयोगमा ल्याइरहेको स्रोतले जानकारी दियो।
_x000D_
_x000D_
महानगरको ३ वटा गाडीमध्ये एउटा ‘वातावरणीय सुन्दर नेपाल प्रालि’ले र २ वटा ‘वेस्ट म्यानेज्मेन्ट रिसाइकलिङ प्रालि’ले प्रयोग गरिरहेको स्रोतको भनाइ छ। सम्झौता ३ वर्षका लागि गरिएको थियो।
_x000D_
_x000D_
‘पहिले निजी कम्पनीलाई फोहोर उठाउने काममा बानी पार्न सम्झौता भएको थियो। त्यो सम्झौता अनुसार महानगरले एउटा डाइभर पनि दिने भन्ने थियो,’ स्रोतले भन्यो, ‘अहिले डाइभर दिइएको छैन। तर, गाडी भने प्रयोग गरिरहेका छन्।’
_x000D_
_x000D_
हाल, महानगरले फोहोर उठाउन १० वटा गाडी प्रयोगमा ल्याइरहेको छ। तर, त्यसमध्ये अहिले ३ वटा निजी कम्पनीले चलाइरहेको पाइएको हो। यसबारे बुझ्दा पोखरा महानगरका सूचना अधिकृत गंगालाल सुवेदीले सत्यतथ्य बुझेर गाडी महानगरको मातहतमा ल्याइने बताए। उनले भने, ‘सबै सम्झौता सकिएका रहेछन् भने हामी चाँडै फिर्ता ल्याउँछौं।’
_x000D_
_x000D_
वातावरणीय सुन्दर नेपाल प्रालिले ग१ग १२३ र ग१ग १३९ नम्बरको गाडीले महानगरका वडा नम्बर ३, ४, ८ र ९ को फोहोर संकलन गर्ने सम्झौता भएको थियो। त्यस्तै, वेस्ट म्यानेज्मेन्ट रिसाइकलिङ कम्पनीले प्रयोग गर्दै आइरहेको ग१ग १४० नम्बरको गाडीले वडा नम्बर १० र १५ मा फोहोर उठाउने गरी महानगरले सम्झौता गरेको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।