बेनी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी आइपुगेका छन्। पत्नी सीता दाहाललाई तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष दाहाल आज बेनी आइपुगेका हुन्।
_x000D_
_x000D_
बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित पत्नी दाहाललाई उपचार गराउन बेनी ल्याइएको हो।
_x000D_
_x000D_
आज दिउँसो हेलिकप्टरमार्फत अर्थुङ्गेस्थित नेपाली सेनाको गणमा अवतरण गराइएपछि सवारी साधनमार्फत बेनी हुँदै दाहाल दम्पती तातोपानी कुण्डमा पुगेका थिए। सो टोलीमा गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकला, अध्यक्ष दाहालकी छोरी गङ्गालगायत सहभागी छन्।
_x000D_
_x000D_
प्राकृतिक चिकित्सालयका रुपमा परिचित तातोपानी कुण्डमा शरीर डुबाएर सीताको उपचार गराउन सुरु गरिएको छ। सीतालाई यसअघि सिङ्गापुर लगेर उपचार गरिएको थियो। तातोपानी कुण्डमा स्नान गरेमा नसासम्बन्धी समस्या हल हुने थाहा पाएपछि उनलाई यहाँ ल्याइएको अध्यक्षका निजी सचिव जोगबहादुर महराले जानकारी दिए।
_x000D_
_x000D_
पहिलो दिन सीतासहितको टोलीले नै तातोपानी कुण्डभित्र करीब साढे १ घण्टा स्नान गरेको छ। उनलाई बेनीस्थित एक होटलमा बसेर केही दिन नियमित रुपमा कुण्डमा पुगेर स्थान गरी उपचार गराउने व्यवस्था मिलाइएको छ। सोही क्रममा अध्यक्ष दाहालको भने कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमसमेत तय गरिएको नेकपाका नेता एवम् पूर्वसांसद गोविन्द पौडेलले जानकारी दिए।
_x000D_
_x000D_
नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापा परिवारका अन्य सदस्यहरुसमेत सहभागी सो टोली तीन दिनसम्म म्याग्दीमै रहनेछ। सो क्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्वप्रधानमन्त्री दाहाल, गृहमन्त्री थापासहितको टोलीलाई स्वागत गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।