काठमाडौँ- यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १०५ मेगावाट विद्युत् प्रयोग गरेका छन्। 
_x000D_
_x000D_
नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन कुनै पनि घर अँध्यारो बस्न नपरोस् भन्ने मान्यताका साथ सम्पूर्ण व्यवस्था मिलाएको र अधिकतम माग सोही परिमाणमा भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
_x000D_
_x000D_
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कात्तिक २१ गते बुधबार लक्ष्मीपूजाको दिन साँझ ६ बजे गरिएको मापनमा घरायसी ग्राहकले गत वर्षभन्दा कम विद्युत् प्रयोग गरेको जानकारी दिए।
_x000D_
_x000D_
गत वर्षको लक्ष्मीपूजाको दिनमा एक हजार १६५ मेगावाट विद्युत् घरायसी ग्राहकले प्रयोग गरेका थिए। यस वर्ष गत वर्षभन्दा ६० मेगावाट विद्युत् कम प्रयोग भएको हो। नियमित विद्युत् आपूर्ति, प्रणालीमा सुधार तथा अन्य व्यवस्थापकीय रुपमा गरिएको सुधारका कारण माग उल्लेख्य रुपमा खपत नबढेको प्राधिकरणको भनाइ छ। 
_x000D_
_x000D_
प्राधिकरणले यस वर्ष कूल एक हजार २७० मेगावाटसम्म विद्युत् माग हुन सक्ने प्रक्षेपण गरेको थियो। प्राधिकरणले एक हजार ५०० मेगावाटसम्म विद्युत् माग भए पनि आपूर्ति गर्न सकिने गरी व्यवस्थापन गरेको थियो। तर त्यसमा औद्योगिक ग्राहकको हिसाब भने जोडिएको छैन। तिहारको समयमा उद्योग तथा प्रतिष्ठान नचलेका कारण पनि ती निकायको गणना गरिएको छैन। प्राधिकरणका देशभर ३५ लाखको हाराहारीमा घरेलु ग्राहक रहेका छन्। 
_x000D_
_x000D_
प्राधिकरणले विद्युत् प्रणाली पुगेका कुनै पनि घर तथा बस्ती अँध्यारो नहोस् भन्ने ध्येयका साथ प्रत्येक वितरण केन्द्र र ग्रिड विभागमा २४सै घण्टा खटिने गरी कर्मचारी परिचालन गरेको थियो। प्रत्येक वितरण केन्द्र मातहत २५ जनाका दरले विशेष टोली बनाएर परिचालन गरेको हो। 
_x000D_
_x000D_
२०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँमा विद्युत् भार कटौतीको अन्त्य गरेको प्राधिकरणले हरेक वर्ष सफलता हासिल गर्दै गएको छ। कार्यकारी निर्देशक घिसिङका अनुसार प्राधिकरणको ४३९ मेगावाट, निजी क्षेत्रको ३४१ मेगावाट उत्पादन र भारतबाट ३२५ मेगावाट विद्युत् आयात गरिएको र त्यसको सकुशल व्यवस्थापन भएको छ। 
_x000D_
_x000D_
उपभोक्ताले सचेत रुपमा नै कम विद्युत् खपत गर्ने उपकरणको प्रयोग तथा विद्युत् प्रयोगमा मितव्ययिता अपनाएका कारण पनि माग कम भएको हो। प्रत्येक वर्ष १० प्रतिशतका दरले घरेलु ग्राहकको सङ्ख्या बढे पनि विद्युत् चोरी नियन्त्रणमा गरेको सार्थक प्रयासले पनि सफलता हात लागेको हो। यस्तै उपभोक्ताको चेतनास्तरमा भएको वृद्धिले पनि आफूहरुलाई विद्युत् व्यवस्थापन गर्न सहज भएको प्राधिकरणको भनाइ छ। 
_x000D_
_x000D_
यसैबीच पर्वतको मोदी गाउँपालिकाको भोकलाङमा भने स्थानीयवासीले रुख काट्दा प्रसारण प्रणालीमा अवरोध भएका कारण सो स्थानमा विद्युत् आपूर्ति हुन सकेको थिएन। स्थानीयवासीले असावधानीका कारण रुख काट्दा विद्युत्को तार चुँडिएका कारण सो स्थानमा समस्या देखिएको भए पनि अन्यत्र कुनै पनि समस्या नआएको प्राधिकरणको भनाइ छ। 
_x000D_
_x000D_
काठमाडौँको गौरीघाट क्षेत्रमा बाँदर झुण्डिएर प्रसारण लाइनमा केहीबेर समस्या पारेको थियो। सो क्षेत्रको ११ केभीको लाइनमा समस्या आएको थाहा पाउनेबित्तिकै प्राधिकरणको टोलीले मर्मत गरेको थियो। करिब २४ मिनेटमा सो क्षेत्रको विद्युत्समेत नियमित भएको प्राधिकरणको भनाइ छ। 
_x000D_
_x000D_
देशभर कुनै पनि स्थानमा विद्युत् अवरोध नभएको र नियमित रुपमा सहज तवरले विद्युत् उपलब्ध गराउन सकिएको प्राधिकरणको भनाइ छ। बत्ती, रङ र फूलको पर्वलाई आफूहरुले मेहनतका साथ सफल बनाएको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले आगामी दिनमा समेत यस्तै साथ र सहयोग उपभोक्ताबाट प्राप्त हुने विश्वास व्यक्त गरे।रासस
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।