रामेछाप– १३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा रामेछाप प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्दै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन्।
प्रहरीका अनुसार भण्डारीले आफूले अध्यापन गराउँदै आएको विद्यालयकी १३ वर्षीया छात्रालाई परीक्षामा पास गराइदिने प्रलोभन देखाएर ललाइफकाइ गर्ने, संवेदनशील अंगमा छुने तथा चिमोट्ने गरेको आरोप छ।
त्यस्तै, उनले फेसबुक मेसेन्जरमार्फत अश्लील तस्बिर, भिडियो तथा सन्देश पठाउने र पटक–पटक यौनजन्य गतिविधि गर्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले भण्डारीलाई असोज १४ गते पक्राउ गरेको हो। रामेछाप जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिमाथि अनुसन्धान भइरहेको जनाउँदै पीडित बालिकाको पहिचान गोप्य राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।