काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डडेल्धुराका २८ वर्षीय मेयर भरत वडायर जोशीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
जोशीले ३५ वर्षमुनि युवा खुला–सुदूरपश्चिम प्रदेशतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका हुन्।
गत भदौ २३ गतेको जेन–जी आन्दोलनपछि युवाहरूको राजनीतिमा प्रवेशबारे बहस बढिरहेका बेला जोशी भने त्यसअघि नै स्थानीय तहको नेतृत्वमा पुगिसकेका युवा हुन्। गत स्थानीय तह निर्वाचनमा उनी २८ वर्षकै उमेरमा डडेल्धुराको परशुराम नगरपालिकाको मेयर निर्वाचित भएका थिए।
चीनबाट भौतिक विज्ञानमा स्नातकोत्तर गरेका जोशी अध्ययनपछि अस्ट्रिया जाने तयारीमा थिए। कोरोना महामारीका कारण अस्ट्रिया फर्किन नपाएपछि उनी गाउँमै बसेर सामाजिक गतिविधिमा सक्रिय भए। महामारीका क्रममा समुदायसँग प्रत्यक्ष रूपमा काम गर्दा भोगेको अनुभवले उनलाई सामाजिक तथा राजनीतिक क्षेत्रमा निरन्तर सक्रिय रहन प्रेरित गरेको बताइन्छ।
नेपाली कांग्रेसको अघिल्लो महाधिवेशनमा परशुराम नगरपालिकाको नगर सभापति बनेका जोशी त्यसपछि स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएका थिए।
जोशीले युवाको सहभागिता, शिक्षा तथा अवसर विस्तारलाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सार्दै आएका छन्। उनी धितोबिना शैक्षिक प्रमाणपत्रका आधारमा विद्यार्थीले कर्जा लिन सक्ने विद्यार्थी कर्जा कार्यक्रमका योजनाकारसमेत रहेको बताइएको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्वको विषय प्रमुख रूपमा उठिरहेका बेला जोशीको उम्मेदवारीलाई सुदूरपश्चिमबाट युवा नेतृत्वको दाबीका रूपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।