बनियानी- झापाको दमक नगरपालिकाले आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। 
_x000D_
_x000D_
नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिए। 'राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानका लागि नगरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हौं,' उनले भने, 'इलामको चुलाचुली गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेको छ।' 
_x000D_
_x000D_
त्यस्तै, ताप्लेजुङको फक्तालुङ गाउँपालिकाले पनि फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने गरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिए।  'फाल्गुनन्दको जन्मदिनमा किराँत धर्मालम्बीहरुले बिदा दिन माग गर्दै आएका छन्,' उनले भने, 'धर्मगुरु र किराँत धर्मावलम्बीका सम्मान लागि पनि बिदा दिइएको हो।' 
_x000D_
_x000D_
विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको इभाङ–५ चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बू र आमा हंसमती लिम्बूको कोखबाट साहिँला छोराका रूपमा फाल्गुनन्दको जन्म भएको थियो। 
_x000D_
_x000D_
किराँत धर्मका महागुरु तथा समाज सुधार फाल्गुनन्दको २००५ चैत २२ गते निधन भएपछि विभिन्न किराँत सङ्घसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउँदै आएका छन्। उनलाई सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो। उनी नेपालका १६औँ राष्ट्रिय विभूति हुन्। उनको फोटो अङ्कित हुलाक टिकटसमेत प्रकाशन हुँदै आएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।