बर्दिवास– दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको निम्ता दिइरहेका बेला महोत्तरी बर्दिवास नगरपालिकाका सर्वसाधारणले भने आफ्ना जनप्रतिनिधिलाई सडकको धुलो खाने निम्ता दिएका छन्।
_x000D_
_x000D_
बर्दिवास–जलेश्वर सडक छेउका बासिन्दाले तिहार पर्व सुरु भएसँगै नगरका चोकचोकमा भेला भएर सार्वजनिकरुपमै आफ्ना जनप्रतिनिधि र सडक विभागसम्बद्ध अधिकारीलाई यो सडक क्षेत्रमा आएर बुङ्बुङ्ती उडिरहेको धुलो खान सार्वजनिक निम्ता दिएका हुन्।
_x000D_
_x000D_
'हेर्नोस् न, हामी यो सडकमा दिनहुँ बुङ्बुङ्ती उड्ने धुलो खाइरहेका छौँ', बर्दिवास नगरपालिका–२ ओमशान्तिचोकमा एकाबिहानै भेला भएका वरपरका टोलवासीको बीचबाट दीपमायाँ श्रेष्ठले भनिन्, 'मन्त्री, नगरपालिका प्रमुख र कुनै हाकिमको ध्यान सडकमा परेन, त्यसैले तिहार सुरु भएको अवसरमा दाजुभाइलाई तिहारको निम्ता दिनसँगै उहाँहरु (जनप्रतिनिधि र सडकसम्बद्ध अधिकारी) लाई सडकमा उड्ने धुलो खान निम्ता गरेका हौँ।'
_x000D_
_x000D_
बर्दिवास–जलेश्वर सडकखण्डअन्तर्गत बर्दिवास नगरका क्षेत्रका चोकचोकमा तिहारका अवसरमा सर्वसाधारणले यो अभियान सुरु गरेका हुन्। विक्रम संवत् २०४८ मा कालोपत्र गरिएको ४२ किलोमिटर दूरीको बर्दिवास–जलेश्वर सडक त्यसयता कहिल्यै मर्मतसम्भार नगरिएको यो सडक क्षेत्र वरिपरि बासिन्दाको गुनासो छ।
_x000D_
_x000D_
'सडक अब खाल्डाखुल्डीमा परिणत भइसकेको छ, अत्यन्त चल्तीको यो सडकमा दिनहुँ चल्ने सयौँ सवारी साधनले आकास नै ढाकेर धुलो उडाउँछन्', सडकको दुर्दशा देखाउँदै बर्दिवास–२ का बुद्धचोकमा भेला भएकाको बीचबाट अर्की स्थानीय गायत्री उपाध्यायले भने, 'यो दुर्दशा देखाउन नै तिहार लागेको दिन दाजुभाइलाई निम्ता दिनभन्दा पहिले मन्त्रीजी, मेयरसा’ब र हाकिलाई यहाँको धुलो खान सार्वजनिक निम्ता गरेका हौँ।'
_x000D_
_x000D_
जनप्रतिनिधि र सडक विभागका अधिकारी यहाँ आएर धुलो खाए चाँडै सुधार हुन्थ्यो कि भन्ने आफूहरुको विश्वास रहेको चोकमा भेला भएका सयौँ स्थानीयवासीले एकैस्वरमा बताए।
_x000D_
_x000D_
'मन्त्री (गिरिराजमणि पोखरेल), राष्ट्रियसभाका उपाध्यक्ष (शशिकला दाहाल) र प्रदेशसभा सदस्य (शारदा थापा) पनि हाम्रै नगरका मतदाता हुनुहुन्छ, मेयर सा’बसहितका प्रतिनिधि त यहीँकै हुनु नै भयो', बुद्धचोकको भेलामा उपस्थित जनता बहुमुखी क्याम्पस बर्दिवास स्नातक तहकी छात्रा मीना पौडेलले भनिन्, 'सडकको दुरावस्थाले तिमीहरु दुःख पाएछौँ भन्न कोही देखिनुहुन्न, त्यसैले यो सडकमा उड्ने धुलो खान उहाँहरुलाई निम्ता गर्नु ठिकै हो।'
_x000D_
_x000D_
पछिल्ला कैयौँ वर्षदेखि सडक भत्किएर ठूलठूला खाल्डाखुल्डी बन्दा सवारी साधन चलाउन बढेको जोखिमसँगै यहाँ उड्ने धुलोले जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको बुद्धचोककै बासिन्दा स्वास्थ्यकर्मी श्यामनारायण लाल बताउँछन्।
_x000D_
_x000D_
यो सडक क्षेत्रमा बर्दिवास नगरपालिका बाहेक औरही, रामगोपालपुर, मनराशिशवा, जलेश्वर नगरपालिका र एकडारा गाउँपालिका पर्छन्। सडक क्षेत्रका यी सबै नगर/गाउँ बस्ती अहिले सडकमा उड्ने धुलोले आक्रान्त छन्।
_x000D_
_x000D_
'बर्दिवासका सर्वसाधारणले तिहारमा धुलो खान जनप्रतिनिधि र सडकसम्बद्ध अधिकारीलाई निम्तो दिएको सार्वजनिक घोषणा गरेछन्', सडक क्षेत्रमा पर्ने रामगोपालपुर नगरपालिकाको कञ्चनपुरका राजनीतिक, सामाजिक कार्यकर्ता गौरी मण्डलले भने, 'उनीहरुले यो दुर्दशा त नदेखेका होइनन् नि! ध्यान नदिएका हुन् , अब सडक क्षेत्रका सबैतिर सडक सुधारसँग जोडिएका सचेतना कार्यक्रम नै सञ्चालन गर्नुपर्छ।'
_x000D_
_x000D_
मन्त्री, प्रमुख र सडक विभागका हाकिम यता आउनै छाडेका र कदाचित आइहाले पनि सुविधा सम्पन्न आफ्ना गाडीको सबै झ्याल थुनेर हुँइकिने गरेकाले आफूहरुको दुःख नबुझेका यस भेगका बासिन्दाको गुनासो छ।
_x000D_
_x000D_
सडकमा आकाश ढाकेर उड्ने बुङ्बुङती धूलो खान सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारका प्रतिनिधि र सडकसम्बद्ध अधिकारीलाई निम्तो नै गरेपछि सबैको सडकतिर ध्यान पुग्ने यहाँका बासिन्दाले आस सँगालेका छन्।
_x000D_
_x000D_
यो सडक क्षेत्रको बर्दिवास नपामा पर्ने हटियाचोक, लचका, दर्लामीचोक, ओमशान्तिचोक, बुद्धचोक, हङ्कङ्ग डाँडा, बेङ्खाडी चोक, रामानन्दचोक र करमटोकी चोकमा आज बिहान वरपरका सर्वसाधारण जम्मा भई जनप्रतिनिधि र सडकसम्बद्ध अधिकारीलाई धुलो खान गरेका सार्वजनिक निम्ताले विकास र सुधारप्रति सामाजिक चासो बढेका रुपमा ग्रहण गर्नुपर्ने यहाँका बुद्धिजीवी बताउँछन्।
_x000D_
_x000D_
आफ्नै मतदाता रहेका बर्दिवास नगरका मतदाताले तिहारमा धुलो खान गरेको निम्ता सार्वजनिक सरोकारमा बढेको सचेतताका रुपमा आफूले बुझेको महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले बताए।
_x000D_
_x000D_
'पहिलो पटक निर्माण भएयता मर्मतसम्भार नपाएको यो सडकको स्तरोन्नति गर्न म आफ्नो तहबाट प्रयत्नशील छु', प्रदेशसभा सदस्य थापाले भने, 'यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री, आफ्नै क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा वर्तमान सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, सडक विभागसम्बद्ध अधिकारी र स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गर्दैछु।'
_x000D_
_x000D_
बर्दिवास नपाका प्रमुख विदुरकुमार कार्कीले सडकको अवस्थाबारे आफू जानकार रहेको र यसको स्तरोन्नतिका लागि संघीय सरकारका सम्बन्धित मन्त्री, सडक डिभिजन कार्यालय जनकपुर र हुलाकी सडक कार्यालय बर्दिवाससँग कैयौँ चरणमा छलफल गरेको बताए।
_x000D_
_x000D_
बर्दिवास–जलेश्वर सडकको रेखदेखको जिम्मा पाएको हुलाकी सडक कार्यालयले जिल्ला र छिमेकका अन्य जिल्लाका हुलाकी सडकसँगै यो सडकको पनि मर्मतसम्भार र स्तरोन्नतिका लागि काम थालिने जनाएको छ। यसका लागि प्रक्रिया सुरु भइसकेको हुलाकी सडक कार्यालय बर्दिवासका प्रमुख देवेन्द्र साहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।