साँझको साढे ६ बजे निकै अध्याँरो भइसकेको थियो। दिनभरजसो देखिएका मुस्ताङका सेता हिमाल ओझेल परिसकेका थिए। पाखो खोस्रेर बनाइएको मुक्तिनाथ-कागबेनी सडकमा बहने चिसो सिरेटोले मुटु नै कमाउँथ्यो। चिसैले हुनुपर्छ, स्थानीयवासी घरबाहिर खासै देखिँदैनथे।
गत कात्तिक ५ गते मुक्तिनाथको चहलपहलाई उतै बिसाएर हामी यो सडक खण्डको ११ किलोमिटर दुरी हिँडेरै पार गर्दै थियौं। बाटो पिच भएकाले हिँड्न गाह्रो थिएन। तर, साँझको समय त्यो लामो लामै दुरी हो। करिब दुई किलोमिटर ओरालो झरेपछि हामीले स्थानीय हिँड्ने गोरेटो बाटो छोटो हुन सक्ने महसुस गर्यौं। र, सडकछेउकै एउटा घरअघि उभिएका एक अधबैंसे पुरुषलाई त्यसबारे सोध्यौं।
उनले उत्तर दिएनन्। बरु प्रश्नै सोधे, 'घर कहाँ?'
हामी मुस्ताङ घुम्न आएको र अहिलेचाहिँ यो सडकखण्ड हिँडेरै पार गर्न आँटेको थाहा पाएपछि उनी झनै कडा सुनिए, 'रात परिसक्यो। अर्काको देशमा जे पनि हुन सक्छ। बाटामा कसैले लुटपाट गर्यो भने के हुन्छ? मारेर फालिदियो भने के हुन्छ? दिमाग छैन?'
उनी रिसाउनु वा खुसाउनुले हाम्रो बाध्यता कम हुँदैनथ्यो। कागबेनीसम्मको दुरी छोटिने कुरै थिएन।
हामी उनलाई छाडेर अघि बढ्यौं। तर उनी पनि हामीसँगै केहीबेर ओरालो झरे। रिसाए पनि बाटो देखाइदिन आए होलान् भन्ने लाग्यो। हामीले स्थानीय सम्झिएका उनी त टुरिस्ट गाइड पो रहेछन्। उनका भरियाहरु तोकिएको समयमा आइनपुगेकाले अघि सडक छेउमा बसेर कुरिरहेका रहेछन्।
सय मिटर नहिँड्दै उनले आफ्ना भरिया भेटिहाले। भारीले हुनुपर्छ ती बिस्तारै हिँडेर आइरहेका थिए। तर ती गाइडले उनीहरुप्रति कुनै सहानुभूति वा समभाव देखाएनन्। बरु आमाचकारी गाली गर्न थाले। 'यसैगरी बनिन्छ भरिया?', उनको स्वभाव त्यहाँ पनि उजागर भयो।
हामी उनीहरुलाई छाडेर ओरालो झर्यौं।
'त्यो गाइडलाई त हामीले बाटो पो सोधेका थियौं। किन अनेक डर देखाउनुपरेको होला', हामी छलफल गर्न थाल्यौं।
'यिनीहरुलाई सिकाएकै यस्तै हुन्छन्। पहिले कुरा नै सुरक्षा भन्ने सिकाउँछन्। त्यसैले अन्जान ठाउँमा राति हिँड्नुहुँदैन भन्ने यिनीहरुको मान्यता हुन्छ।'
अध्याँरो थियो तर मोबाइलको टर्च बालेर उज्यालो बनाउन ब्याट्री थिएन। दिनभर फोटो र भिडियो खिच्ने कामबाट मोबाइलले खासै फुर्सद पाएको थिएन। त्यसमाथि चिसो ठाउँ। ब्याट्री टिकोस्, कसरी? 'ब्लड प्रेसर लो' भन्दा पनि 'ब्याट्री लो' ठूलो समस्या र चिन्ताको विषय हो, अहिले।
केहीबेरमा झलमल्ल चन्द्रमा झुल्कियो। पर्सिपल्ट पूर्णिमा जो थियो। मानिसलाई प्रकृतिले भन्दा बढी उदार सहयोग कसले पो गरेको छ र? हिँडाइ केही सहज भयो।
गाइडले छिराइदिएको डरले काम नगरेको होइन। तर, मुस्ताङ यात्राका सहयात्री प्रवीण ढकाल, सीताराम कोइराला र म बाध्यतामा थियौं। कागबेनीमा नै होटल निश्चित गरेर झोला पनि त्यहीँ छाडेर हामी मुक्तिनाथ उक्लिएका थियौं। त्यसैले पनि हामीलाई सकेसम्म चाँडो कागबेनी पुग्नुपर्ने थियो।
धार्मिक गतिविधिमा रुचि नराखे पनि मेरा लागि मुक्तिनाथ यात्रा नयाँ अनुभव थियो। जस्तो कि, मैले यहाँ पहिलो पटक बढी उचाइको अप्ठ्यारो महसुस गर्न सकेँ।
मुक्तिनाथ मन्दिर छेउमा हिँड्न मलाई गाह्रो भइरहेको एक महिलाले ख्याल गरेकी रहिछन्। उनी हामीसँगै बेनीबाट मुक्तिनाथ आएकी थिइन्। सोधिन्, 'लसुन छैन?'
'लसुन? किन?'
'लौ राख्नुस्', उनले लसुनको ठूलो डल्लो थमाउँदै भनेकी थिइन्, 'यो चपाउँदै हिँड्नुस्। सजिलो हुन्छ।'
लसुनकै कारण हो वा समथर बाटो आएर, मलाई केहीबेरपछि सहज महसुस भयो।
घुम्नु भनेकै फोटो खिच्नु! पृष्ठभूमिका मुक्तिनाम मन्दिर र बुद्धको ठूलो मूर्ति छँदै थियो।
राति कागबेनीमै बस्न भने हामीलाई तीन कारणले प्रेरित गर्यो। पहिलो, एकै पटक मुक्तिनाथ जतिको उचाइमा बस्दा राति लेक लाग्ने सम्भावना हुन्छ। कागबेनी कम उचाइमा पर्थ्यो।
दोस्रो, माथिल्लो मुस्ताङ जान कागबेनीबाट सजिलो हुन्थ्यो। गाडी त्यहीँबाट जान्छ भनिएको थियो।
तेस्रो, बेनीबाट हामी आएको बसको ड्राइभरले हामीलाई मुक्तिनाथबाट कागबेनी आधा घन्टामा आइपुगिन्छ भनेर ठोकुवा गरिदिएका थिए। कागबेनीकी होटल साहुनीले झन् उक्साइन्, 'तपाईंहरुजस्तो केटाहरुलाई त आधा घन्टा पनि लाग्दैन।'
यात्रामा हिँडेका हामीले स्थानीयको कुरा नपत्याउनु कसरी? होटलमै झोला बिसाएर बेनीबाट आएकै गाडीमा मुक्तिनाथसम्म पुगेका थियौं। त्यसैले हामीले फर्किनैपर्थ्यो।
हामीले मुक्तिनाथबाट गाडी चढेर कागबेनी झर्न नखोजेका होइनौं। तर, गाडी रिजर्भमा लिनुपर्ने रहेछ। भाडा तीन हजार रुपैयाँ। ११ किलोमिटरको भाडा तीन हजार? हामी घुम्न आएका थियौं, पैसा उडाउन होइन। बरु हिँडाइ नै ठिक।
मुक्तिनाथ छेउकै एउटा होटलमा एकएक प्लेट बफ मम: बजाएर हामीले आफूमा ऊर्जा भरेका थियौं। जहाँ नेपाली, त्यहाँ मम:। जति मेन्यु पल्टाए पनि लास्टमा मम:। तर, काठमाडौंको जति मिठो होइन। चिसो कतिसम्म थियो भने ममःको पहिलो डल्ला मुखमा हाल्दा तातै थियो, अन्तिम गाँस हाल्दा चिसो ठिहिर्याउला जस्तो।
११ किलोमिटरको दुरीमा ११ सयजति नै विषयमा गफ भए होलान्। जस्तो कि, गाइडले भनेजस्तो कसैले लुट्न आयो भने? भाग्ने कि प्रतिकार गर्ने? गोजीको पैसा खोसियो भने बाँकी यात्रा के होला? तीन जनालाई लुट्न त ६ जना आउनुपर्छ, हतियार लिएर, सम्भव होला?
गफ जेका गरे पनि हिँड्नु त पर्थ्यो नै।
दसैंका लागि झरेको म ३ गते तराईमै थिएँ। घरबाट ४ गते बेनी र ५ गते मुक्तिनाथ पुग्दा मेरो शरीरले थुप्रै अन्तरको जाडो महसुस गरेको थियो। यहाँ चल्ने हावाले ल्याइरहेको चिसो छेक्न भुत्ते ज्याकेटलाई पनि हम्मे परिरहेको थियो।
यसबीचमा हामीले एक अर्कालाई जिस्कायौं। तर्सायौं। विपरीत दिशाबाट आएका गाडीको ड्राइभरले देख्नेगरी सडक छेउमा नाच्यौं। अरु सबै कुरा छिटोछिटो हुन्थ्यो तर दुरी बिस्तारै घट्थ्यो। 'कागबेनी ८ किलोमिटर' लेखेको दुरीसूचकमा लात्ताले हानेर कतिबेर हिँडौं जस्तो लाग्थ्यो। तर अर्को दुरीसूचकमा लेखिएको हुन्थ्यो 'कागबेनी ७ किलोमिटर'। झनक्क रिस उठ्थ्यो।
स्वाभाविक रुपमा हाम्रो ध्यान स्थानीय हिँड्ने छोटो बाटोमा पनि पुगिरहेको थियो। कतैकतै त्यस्ता बाटा पत्ता लागिरहेका पनि थिए। अध्याँरोमा छामछामछुमछुम पार्दै हामी बगरे भीरमा हिँड्यौं। चिप्लियौं। अप्ठ्यारै सही, छोटा बाटा चाहिएको थियो। केही मिटर दुरी घटाउन पाए पनि हामीलाई केके न हुन्थ्यो जस्तो भइरहेको थियो।
अन्ततः हामी दुई घन्टाभन्दा बढी समय लगाएर कागबेनी आइपुग्यौं।
तर, आजको सकस यतिमा सकिँदैन। दिनभरका यात्रालाई सम्झिन बाँकी नै छ।
४ गते बेलुका बेनीमा बसेका हामीलाई होटल साहुले भोलिपल्ट बिहानै बसपार्क जान र सकेसम्म पहिलो गाडीमै मुक्तिनाथ जान सुझाएका थिए। जाममा फस्नुनपर्ने, पहिले पुगिने र बेलुका जहाँ बसे पनि कोठा खोज्न सजिलो हुने कारणहरु उनले बताएका थिए। हामीले त्यसै गर्यौं। करिबकरिब भरिइसकेको एउटा रिजर्भ बसमा हामी पनि चढ्यौं।
लाग्यो, बस होइन, झोलुंगो चढिएछ।
कालीगण्डकीको तीरैतीर गाडी अघि बढ्यो। बाटो नाम मात्रैका। केही परबाट देखिने अगाडिको बाटो खासमा बाटोजस्तो लाग्दैनथे। सेता धर्साजस्ता मात्रै। साँघुरो त छँदैछ, ढुंगा र खाल्डाखुल्डी उस्तै। त्यहीँमाथि ठाडोगरी चिरिएको बाँसका फक्ल्याँटाजस्ता। बीचमा गहिरो। गाडी क्रस गर्नेबेला चक्का पर भए पनि छत ठोकिन आइपुग्ने।
गाडी कालीगण्डकीको छेउतिर जाँदा सिरिङ्ग हुन्थ्यो। अनि आँखैअगाडि सेता हिमाल देख्दा मन रोमाञ्चित। अप्ठ्यारो बाटो होस् वा हिमाल, आजकाल आँखाको लेन्सभन्दा पहिले मोबाइलको लेन्सले बढी हेर्छ। आफू छेउकै साथीले थाहा नपाएको उत्साह वा अप्ठ्यारो सामाजिक सञ्जालको बाटो हुँदै सात समुद्रपारि पुगिसक्छ। हामी कसरी पो फरक हुन सक्थ्यौं र?
प्रत्येक मोड पार गरेपछि, प्रत्येक उकालो उक्लेपछि नयाँ दृश्य देखिन्थ्यो। हत्तपत्त मोबाइल झिकेर फोटो खिच्न खोज्थ्यौं। तर गाडी स्थिर भए पो खिच्नु! बल्लतल्ल क्लिक गरेर ग्यालरीमा फोटो हेर्यो, हिमाल हो कि बादल छुट्याउनै मुस्किल।
तुलनात्मक रुपमा यो रुटमा गाडी कमैमात्र दुर्घटना हुने गर्छन्। अप्ठ्यारो बाटो हुनुको तुलनामा अन्यत्र जस्तो दुर्घटना भएको यहाँ सुनिँदैन। हाम्रा ड्राइभरले केही कारण बताए। 'बाटो अप्ठ्यारो भएकाले ड्राइभरहरु बढी नै होसियारी अपनाउँछन्। त्यस्तै, यहाँ प्राय:ले आफ्नै गाडी हाँक्छन्', १२ वर्षदेखि यही रुटमा गाडी चलाएका ध्रुव श्रेष्ठले भने, 'तर पनि प्राय: दसैंको बेलामा दुर्घटना हुने गरेको छ। यसपालि मात्रै भएन। यो दसैं शुभ रह्यो।'
रुप्से झरनाबाट केही अगाडि बढेपछि काभ्रेभीर आइपुग्यो। बेनीबाट मुस्ताङ यात्रा गर्नेहरुलाई पहिलोपटक अत्याउने सडकखण्ड यही हो। जोमसोमतिरबाट आउने गाडीको लस्कर र अप्ठ्यारो बाटो भएकाले ड्राइभरले बस रोके। ड्राइभर नजिकै बसेका हामीलाई त्यसले राहत दियो। किनकि, अगाडिको जोखिमपूर्ण बाटो हामीले बसभित्रैबाट देखिसकेका थियौं। थप राहतको भाषा बोल्दै ड्राइभरले भने, 'बाटो अप्ठ्यारो छ। तपाईंहरु झरेर अलि माथि बस्न सक्नुहुन्छ।'
त्यसले हामीलाई दुई वटा फाइदा पुर्यायो। अप्ठ्यारो ठाउँका दृश्य कैद गर्न पाइयो। अर्को, जोखिमपूर्ण यात्रा टर्यो। श्रेष्ठले उत्रेर बाटोमा ढुंगा हालेर केही सहज बनाए। केही यात्रुले साथ दिए।
हाम्रा ड्राइभरले जोमसोमतिरबाट आएका गाडीलाई पहिले पार हुन दिए। अनि, आफू अगाडि बढे। 'बस त उडेजस्तो पो लागेको थियो', बसको पछिपछि दगुरेका एक यात्रुले सुनाए।
साँघुरो, पानी बगिरहेको र लेभल नमिलेको ढुंगाको सडक। अनि तलैबाट स्पिडमा ल्याएर उक्लिनुपर्ने बाध्यता। बस त उड्ने नै भयो नि! हामी पनि कहिले उड्दै, कहिले गुड्दै अगाडि बढिरह्यौं।
मुक्तिनाथ जानेहरुको चापले गर्दा बाटोमा सवारीसाधन बाक्लै ओहोरदोहोर गरिरहेका देखिन्थे। त्यसैले ठाउँठाउँमा जाम पर्नु स्वाभाविकै हो। तर अस्वाभाविक लाग्ने कुराचाहिँ बाइक चालकहरुको हतारो। अप्ठ्यारा बाटामा ठूला गाडीहरु जब मुख जुधाएर एकैछिन रोकिन्छन्, सम्भव भएसम्मका खाली ठाउँमा बाइक भरिन्छन्। अनि सकस झनै थपिन्छ। काठमाडौंको जाममा होस् वा म्याग्दी-मुस्ताङको जाममा, बाइकको चरित्र उस्तै हुने रहेछ।
साँघुरो बाटोमा पनि ठूला सडकमा जस्तो दायाँ वा बायाँ जताबाट पनि उछिन्न खोज्नेहरु मुस्किलले दुर्घटनाबाट जोगिएका दृश्य निकै हेर्न पाइन्छ। थाहा छैन, ती बाइकवालाहरुलाई कहाँ पुगेर के टिप्नु छ?
महिला र बच्चा बोकेका बाइक चालकहरुको उछिन्ने हतारो अचम्मको देखिन्छ। जुन ठाउँमा जोखिम छ, जहाँ पालो दिएर अघि बढ्नुपर्छ, तर बाइकवालालाई मतलब थिएन।
बाइकको पछाडिपट्टि राष्ट्रिय झन्डा बाँधेर कुद्नेहरु पनि प्रशस्तै देखिन्छन्। 'राष्ट्रिय झन्डाचाहिँ किन बोकेका होलान्', म सोध्छु।
'फेसबुके राष्ट्रवाद', प्रवीणको उत्तर थियो, 'झन्डा बोकेको फोटो खिचाएर फेसबुकमा हाल्नलाई।'
महेन्द्रीय राष्ट्रवाद, पहाडीया राष्ट्रवाद त सुनेको हो। पछिल्लो केही वर्ष खोक्रो राष्ट्रवाद पनि खुबै चर्चामा आयो। तर फेसबुके राष्ट्रवाद भने नयाँ, रोचक र यथार्थपरक सुनियो। गज्जब प्रवीण।
र, 'बर्मा गए पनि कर्म सँगै' भनेजस्तो काठमाडौंको धुलोले वाक्क भएका हामीलाई यो सडक खण्डले पनि त्यसबाट मुक्त हुन दिएन।
बेनीबाट लेते नआइपुगुन्जेल समय पनि बिहानकै हुन्छ। हावा पनि त्यतिधेरै चलिरहेको हुँदैन। तर, जब लेतेभन्दा पनि माथि बढिन्छ, हावा बेस्सरी चल्न थाल्छ। सडक कच्ची भएकाले धुलो उड्ने नै भयो। लेतेभन्दा तलतिर आफू अगाडिका गाडीले उडाएको धुलोमात्रै खानुपर्छ। जति माथि गयो, मरुभूमिजस्तो ठाउँ आउँछ। धुलैधुलो। अनि हावाको गति उस्तै तीव्र। अनि त के चाहियो र, आफ्नै गाडीले उडाएको धुलो गाडीलाई नै उछिनेर अघि बढ्छ। अगाडि बढ्न नसक्ने धुलो गाडीमै बसेर यात्रा गर्छ।
तिनलाई सास फेरेरै शुद्धीकरण गर्नुपर्छ।
OOO
'यो मुस्ताङमा पनि कोरियाको जस्तो सडक कहिले बन्ला त', ५ वर्ष कोरिया बसेर आएका ज्ञानु गुरुङलाई सोध्छु।
अघिल्लो मंगलबार उनी मसँगै एउटै सिटमा बसेर यात्रा गरिरहेका थिए। हामी कागबेनी-छुसाङ यात्रामा थियौं। माथिल्लो मुस्ताङको लो-मान्थाङ पुग्न छुसाङबाट मात्रै गाडी लाग्ने भएकाले बिहान १० बजेतिर कागबेनीबाट बस चढेका थियौं। केही किलोमिटरको यो यात्राका सहयात्री थिए, छुसाङकै गुरुङ।
'१० वर्षमा', उनले नसोचीकनै फ्याट्टै उत्तर दिए। फेरि एकछिनपछि के सोचे कुन्नि, भने, '१० वर्षमा पनि बन्दैन।'
'किन बन्दैन?'
'ठाउँ नै समथर छैन। कसरी बनाउनु', उनले दिग्दारीको भाषामा भने।
कोरिया जस्तो सडक नबने पनि मुस्ताङमा निकै विकास भइसकेको गुरुङले महसुस गरेका छन्। धेरैले महसुस गरेजस्तो उनले पनि सडकको पहुँचलाई मुख्य परिवर्तन मानेका रहेछन्। अहिले झोलुंगो जस्तै नै सही तर गाडीको सिटमा बसेर उनले बाल्यकालको स्मृतिमा धेरै बेर हराए। 'जहाँ जान पनि हिँड्नुपर्थ्यो', के भनौं भन्ने भावमा बोले, 'अहिले गाडीमा जान सकिन्छ। मन लागेको कुरा किन्न पाइन्छ।'
हो, बाटो त पुगेकै छ। र, बाटोसँगै पुगेका छन् चाउचाउदेखि बियरसम्म। मान्छेले मार्फा ब्रान्डी कोसेली लैजान थालेका छन्। बियर आउँछ, मार्फा बाहिरिन्छ। अर्कासँग भएकै वस्तु मिठो!
त्यसो त, बाटोकै कारण हामीजस्तो आन्तरिक पर्यटक ओइरिएका छौं।
सडकको पछिल्लो विस्तारबाट गुरुङ त्यति खुसी छैनन्। पहिलेझैं पैदलयात्रु हिँड्न छाडेकाले साना व्यापारीलाई घाटा लागेको उनको तर्क थियो। 'सडकले जोमसोम, कागबेनी, लो-मान्थाङ जस्ता नाम चलेकै ठाउँका व्यापारीलाई मात्रै फाइदा पुगेको छ। साना ठाउँमा साना व्यापार सबै सकिए', उनले भने, 'सडक खुलेर म त्यति खुसी छैन। यसले ८० प्रतिशत मान्छेलाई घाटा पुगेको छ।'
उनी र म बेलाबेलामा रोकिँदै भए पनि गफ गरिरहेका थियौं।
मेरो मोबाइल ग्यालरीमा झुल्कियो, छानामाथि दाउरा राखिएको फोटो, जो अघिल्लो दिन खिचिएको थियो। 'हिउँदमा परेको हिउँ सिधै छानामाथि बस्यो भने त्यसले कोठाभित्र चिसो गराउँछ। दाउरा राख्यो भने हिउँ त्यसमाथि बस्छ। चिसो कम हुन्छ', उनले छानामाथि दाउरा राख्नुको कारण बताए।
'छानामाथि दाउरा हुनेहरुलाई धनी भनेर चिनिन्छ रे नि त?'
'यस्तो दाउरै नपाइने ठाउँमा छानामाथि दाउरा राख्न सक्नु धनी हुनु नै हो नि', गुरुङले जवाफ दिए।
यतिन्जेलमा हामी इलाका प्रहरी कार्यालय छुसाङ आइपुगेका छौं।
'सबैले ज्याकेटको बाहुला माथि सार्नुस्' गाडीभित्र चढ्दै एक प्रहरीले आदेश दिए। माओवादी युद्धको बेला हामीले यस्तो प्रहरी चेकिङको सास्ती खुबै बेहोरेका थियौं। 'प्लस टु' पढ्न गाडीमा गरिने ६ किलोमिटरको यात्रामा दुई पटक किताब बोकेको झोला प्रहरीलाई देखाउनुपर्थ्यो। चिसोयाममा पनि गोजीमा हात हाल्न पाइँदैनथ्यो। प्रहरी क्षेत्रभित्र आपसमा कुरा गर्न पाइँदैनथ्यो। थोरै गडबड भए पुलिसले गाडीमुनिबाट वारपार गर्न लगाउँथे। छुसाङ प्रहरीले चेकिङ युद्धकाल सम्झाइदियो।
सबैले प्रहरीले भनेझैं गरे। प्रहरीले कसैलाई अलि माथिसम्म सार्नु भने, कसैलाई हात घुमाउन लगाए। कसैले चस्मा खोल्न भने। र, अन्तिममा झरे।
प्रहरी झर्नेबित्तिकै मैले ड्राइभरलाई सोधेँ, ' किन नाडी चेक गरेको यहाँ, गुरु?
'खै थाहा छैन', ड्राइभरले भने, 'पहिले यसरी चेक गर्दैनथे।'
कारण थाहा नभएपछि साझा निष्कर्षमा पुगियो- नाडीमा दाग वा ट्याटु भएको कसैले अपराध गरेर फरार भयो होला। त्यसैले पुलिसले यसरी चेक गरेका हुन सक्छन्।
छुसाङमा हामी उत्रियौं। यो एउटा प्रमुख गाडी स्टेसन रहेछ। माथिल्लो मुस्ताङ जानको लागि यहाँबाट अर्को जिप चढ्नुपर्ने। मानिसहरुको भिडले गर्दा जिपमा चढ्न तँछाडमछाड। तर, यताको सिस्टम नै बेग्लै। गाडीमा ट्याक्क पुग्न नौ जनाको समूह बनाउनुपर्ने रहेछ। नपुगे दिनभर कुर्नुपर्ने पनि हुन सक्थ्यो। हामी तीन जना थियौं, पश्चिम नेपालतिरका छ जनाको ग्रुप भेटिए। 'पार्टी एकता' भयो।
तैपनि गाडी पाए पो? खाना खाएर ११ बजेदेखि तयार भएका हामीले प्रहरीको सहायतामा बल्ल २ बजे गाडी चढ्न पायौं। त्यहाँको समितिको काउन्टर एकातिर थियो, गाडी भरिने स्टेसन अर्कैतिर। 'अहिले भिड बढेकाले यस्तो गरेका हुन्', मुस्ताङमै घर भएका एक युवाले भने, 'अरु बेला मान्छे तानातान हुन्छन्।'
अरु बेला तानातान र चाडपर्वमा बोल्न पनि पैसा पर्लाजस्तो गर्ने गाडीवालाहरुको राष्ट्रिय संक्रमण रहेछ।
हामीलाई छुसाङदेखि लो-मान्थाङसम्म यात्रा गराइरहेका थिए, दिल मगरले। उनका तीन दाजुभाइ यही रुटमा गाडी चलाउँदा रहेछन्। चालकको रुपमा उनी पूर्णयता निपुण देखिन्थे। हामीलाई भने डर लाग्थ्यो। भीरको साँघुरो बाटोमा उनी फुत्त ओभरटेक गरेर अघि बढिदिन्थे। विपरीत दिशाबाट आउने गाडीले सहजै साइड नछाडे उनी आफ्नो गाडी उकालोमै रोकेर भए पनि थर्काइदिन्थे। पर्खनु उनको स्वभाव थिएन।
डरचाहिँ हामीलाई लाग्थ्यो। कारण, अप्ठ्यारो बाटोमा उनी मानसिक रुपमा सानो पनि तनावमा नतानिऊन् भन्ने लाग्थ्यो। दैनिकी नै त्यस्तो भएर होला, कहिले गाडी हाँक्दाहाँक्दै झ्यालबाट हात निकालेर केके देखाइरहन्थे। बोलिरहन्थे। अनुभव सुनाइरहन्थे।
डेढ घन्टाजति अगाडि बढेपछि एउटा निजी गाडी विपरीत दिशातर्फ फर्काएर बीचबाटोमै रोकिरहेको थियो। हाम्रा ड्राइभरले थर्काए, 'साइड लगाएर रोक्नुपर्छ भन्ने थाहा छैन?'
त्यो गाडीको ड्राइभरले आफू अगाडि जान नसकेर फर्किन लागेको बताए। बाटो कति जोखिमपूर्ण छ भन्ने बुझ्न उनको निर्णयले बताउँथ्यो। हाम्रा ड्राइभर मुसुक्क हासेँ र अगाडि बढे। उनलाई आफ्नो बहादुरी बोध भयो होला।
बाइकमै उपल्लो मुस्ताङ जाने भनेर हानिएकामध्ये कतिपयले कागबेनी वा छुसाङ पुगेपछि निर्णय परिवर्तन गर्छन्। र, लोकल जिप चढेर जान्छन्।
बाटो अप्ठ्यारो हुनु त छँदैछ, बाइक बिग्रियो भने कम्तीमा ८/१० हजार खर्च हुने रहेछ। पहिलो कुरा त धेरैलाई त्यहाँसम्मकै यात्राले दिक्क लगाइसक्दो रहेछ। अर्कोतर्फ, बाइकको माया लाग्ने नै भयो। त्यसमाथि उच्च हिमाली भेगमा बाइकमा राखिएको पेट्रोलमा समस्या आउने रहेछ। ब्याट्री चाँडै सकिने, पिकअप नलिने त सामान्य समस्या भइहाल्यो। 'डरको अघि जित छ' भन्ने आँटिलाहरु त जसरी पनि पुग्छन् नै।
तर आँट सँगसँगै जोखिम पनि छ। बंगलादेशमा अध्यनरत एक विद्यार्थी बाइक एक्सिडेन्ट भएर चोटग्रस्त भएका थिए। ११ जनाको समूह बनाएर गएका उनीहरु राति ११ बजे लो-मान्थाङ पुग्दा होटलहरु बन्द भइसकेका रहेछन्। प्रहरी चौकीमा दु:खसाथ सुताएको बताउँदै थिए, त्यहाँका प्रहरी।
बाटोमा बाइक बिग्रेर डोरी लगाएर तान्नेहरु पनि देखिए।
अगाडि बढ्न नसकेको जिपलाई छाडेर हामी अगाडि बढ्यौं। सातै उड्ने बाटो आइपुग्यो। साँघुरो र अस्वाभाविक उकालो-ओरोलो। आङ सिरिङ्ग हुने अप्ठ्यारो बाटो आएपछि हामीसँगै यात्रारत एक बहिनीले आँखा चिम्लिन् र निहुरमुन्टी लागिन्। यस्ता कतिपय बाटोमा कसैले ड्राइभरलाई नबोलाइदिए वा अन्य तरिकाले पनि डिस्टर्ब नगरुन् भन्ने लाग्छ।
जे होस्, हाम्रा ड्राइभरले कुशलतापूर्वक गाडी पार गराए।
उकालो र घुमाउरो बाटोमा निकै बल लगाएर गाडी दौडिरहँदा आफ्नो मुटु पनि उसैगरी दौडिन्छ। जब उकालोको बीचमा गाडी घ्याच्च रोकिन्छ, मुटु उसैगरी रोकिन्छ। अनि बल लगाएर पुन गाडी नगुन्जेल 'अब मरियो'झैं लाग्छ। गाडी गुडे पनि डर कम हुँदैन। यस्तो लाग्छ, कसैले अगाडिबाट कमजोर डोरीले बाँधेर गाडी तानिरहेछ। कतिबेला चुडिँएर कहाँ खसिने हो पत्तो छैन।
जुन खालको बाटो बनाइएको छ। जसरी बगरे डाँडाहरु खोपिएको छ। जुन स्पिडमा जिप कुदाइन्छन्। ती सबै देख्दा लाग्छ, यहाँ ड्राइभरले होइन, आँटले मात्रै गाडी कुदाउन सक्छ।
दिउँसो बेस्सरी हावा चल्छ। गाडीभित्र किञ्चित तातो भए पनि बाहिर निस्कँदा भने उडाइदेला जस्तो बेगमा चिसो हावा चलिरहेको हुने। तुलनात्मक रुपमा न्यायोमा हुर्केबसेका हामीलाई चिसोमा पटकपटक पिसाब लाग्नु सामान्य हो। तर ड्राइभरलाई असामान्य लागेछ। उनी व्यंग्यमिश्रित ठट्टा गर्छन्, 'होइन, इन्जिन बिग्रियो कि क्या हो?'
हाँसेर पिसाब रोकिने भए पो!
जोमसोमबाट अगाडि बढ्दादेखि नै डाँडाकाँडाको संरचनामा खासै फरकपन देखिँदैन। उस्तै पहेँला पहाड, कतैकतै हरिया तर सानासाना पोथ्रा। समग्रमा उराठलाग्दा डाँडा। चारैतिरका दृश्य उस्तै लाग्छन्। गिटीबालुवा मिसाएर थुप्रो लगाइएझैं। डाँडा खोतलेर बनाइएका बाटोमा जिपले कैयौं किलोमिटर दुरी पार गरिसक्दा पनि केही फरक देखिन्न।
यस्तै डाँडाहरु मैले पहिलोपटक केही वर्षपहिले अफगान युद्धको विषयमा बनेको फिल्म 'द बिस्ट'मा देखेको थिएँ। फिल्म यस्तै उराठिला डाँडामा रुसी सेनाले बख्तरबन्द कुदाउँदा यस्तो पनि ठाउँ हुन्छ र? जस्तो लागेको थियो। तर, आफ्नै देशमा रहेछ। यात्रा अवधिभर मैले त्यो फिल्म सम्झिइरहेँ।
तर यी पहाडमा सुन्दर आकृति भने देखिन्छ। कुनै पुराना दरबारका भित्ताझैं। निकै मेहनतले खोपेर बनाइए जस्तो।
छुसाङमा खाना खाने बेला एक जनालाई ती पहाडहरुको संरचना अचम्म लागेछ। आफ्ना साथीलाई सोधे, 'कसरी बन्यो होला है यस्तो?'
'लास्ट टाइम मोदी आउँदा उनलाई देखाउन यस्तो आकृति तयार गरेको हो', साथीले जिस्काउँछ, 'कति धेरै मान्छेको मेहनत परेको छ।'
साथीहरुसँगको यात्राको रमाइलो यही हो। कसले कतिबेला कसलाई मुर्गा बनाउँछ, ठेगान हुँदैन।
गाडीमा हामीसँगै यात्रारत पश्चिम नेपालको युवाहरु पनि कम थिएनन्। खुब गीत गाउने।
'गाउँलेले सोध्लान् नै खै जीवन भन्लान्, खसी काट भन्दिए', आफ्नै साथीको नाम लिएर एउटाले सुरु गर्यो।
'गाउँले होइन, भाउजू हो', अर्कोले सच्याउन खोज्यो।
'भाउजूले त्यसो भन्दिनन्', गीत गाउनेले आफूले गाएको सही बनाउन खोज्यो।
'यो स्वार्थी संसार हो, बुझिस्', अघिकैले थप्यो।
हाँसोको फोहोरा छुट्यो।
कोराला नाका जोड्ने मुख्य राजमार्गको निर्माण कार्य धमाधम चलिरहेको छ। बाटोबाटोमा एक्स्काभेटर सडक फराकिलो बनाइरहेका देखिन्छन्। कतै ग्रावेल हालेर आरामदायी बनाइएको छ। 'यो बाटो त तपाईंहरुलाई पिच जस्तै लाग्यो होला', गिलिङ गाउँमा केही किलोमिटर बिछ्याइएको ग्रावेलमा गाडी कुदाउँदै ड्राइभर हामीलाई सोध्छन्।
तर, सजिलोबाटोमा जति कुदे पनि डर लाग्ने त केही मिटरको अप्ठ्यारो बाटोमै हो। अगाडि सजिलो बाटोमा कुदियो वा पछाडि सजिलोमा कुदिएला भनेर तत्कालको अप्ठ्यारो बाटोमा जोखिम कम भइदिँदैन। 'वन मिस्टेक, गेम फिनिस'।
'गेम' मात्रै हो र यहाँ त जिन्दगीको सवाल छ।
धुलो उड्न यता पनि कम भएको थिएन।
'कस्तो धुलो उडेको छ्या', एक यात्रु कराए।
'यो त अर्गानिक धुलो हो', अर्कोले जवाफ फर्कायो, 'फाइदा गर्छ।'
'कसरी?'
'यहाँको धुलोमा जडिबुटीको जरा, हिमालको शीतलता, मुक्तिनाथको पवित्रता मिसिएको हुन्छ।'
नहाँस्नु कसरी?
ड्राइभर दिलले आफ्नो अनुभव सुनाउन थाले। चुनावका बेला उनले गाडीमा तत्कालीन एमाले र कांग्रेस उम्मेदवारका पैसा बोकेर हिँडेका रहेछन्। त्यतिबेला पैसा लुकाएको भए अवसर थियो तर नलुकाइएकोमा चुकचुकाउँछन्। तर फेरि इमानदार भएर काम गरेकोमा आत्मसन्तोष पनि छ उनमा। 'उचाल्नै नसकिने झोलामा पैसा हुन्थ्यो। पैसा बोकेर धेरै गाउँमा पुग्यौं', उनी सम्झिन्छन्।
नेताहरुले आफूले लगेको पैसा प्रत्येक गाउँमा मुख्य नेतालाई दिन्थे रे! 'अनि ती नेताले अन्यलाई बाँड्थे', उनले थपे, 'जनताले कांग्रेसबाट १५ हजार र एमालेबाट ५ हजार पाएको सुनेको छु। सबैले त के गरे, थाहा छैन। तर पाउनेहरुले नै भनेको कुरा हो।'
'तर, त्यतिबेला मैले पैसा लुकाएको भए कसले कारबाही गर्थ्यो र? उल्टै पैसा बाँड्न लगेको रहेछ भनेर नेताकै बेइज्जत हुन्थ्यो', उनले चुकचुकाउन छाडेनन्।
गत मंसिरमा सम्पन्न चुनावअघि प्रदेश २ का केही जिल्लामा घुम्दा त्यहाँका केही मानिसको तर्क थाहा पाएको थिए- 'हामीले जिताएको नेता भनेर के गर्नु? चुनावपछि सानो सहयोग माग्न गयो भने पनि भेट्दैनन्। आफूलाई राजा सम्झिन्छन्। अहिले किन सित्तैमा भोट दिनु? जसले बढी पैसा दिन्छ, उसैलाई भोट दिने हो।'
यी ड्राइभरको कुरा सुनेपछि ममा काउन्टर तर्क जन्मियो। सायद नेताले सोच्लान्- 'पैसा नदिई चुनाव जितिने होइन। प्रत्येक भोटको पैसा तिरेको छ। जनताले दान दिएको हो र? भोट त किनेको हो। अनि, भोट किन्नुपरेपछि जनता-जनता भनेर हिँडेर के हुन्छ? सकेसम्म कमाउने हो। आफ्नो काम गर्ने हो। अर्को पटक भोट किन्ने पैसा जम्मा गर्नुपरेन?'
हामी जति माथि चढ्छौं उति नै सहज महसुस हुन्छ। छुसाङबाट २ घन्टाजति माथि उक्लेपछि भने फराकिलो बाटो भेटिन्छ। ती सुरक्षित पनि लाग्छन्। तर, हरियोपन कम देखिन थाल्छ। कतैकतै भेटिने गाउँ वा घर वरिपरि स्याउ वा अन्य विशेष प्रजातिको कुनै बिरुवा देखियो भने बेग्लै कुरा, नत्र हरियाली देख्न मुस्किल छ।
लो-मान्थाङ पुग्ने बेलादेखि समथर भूमि पनि देखिन्छ।
'यत्रो जमिन त्यतिकै खाली छ। केही त उत्पादन हुँदो हो नि! स्याउ रोपे पनि फल्छ होला', सँगै यात्रारत एक साथी भन्दै थिए, 'सरकारले अलिअलि सहयोग गरिदिए त भइहाल्थ्यो होला नि!'
'पख्नुस् न', म थुमथुम्याउँछु, 'रेल र पानीजहाज आओस् न पहिले।'
उनी हाँसे। रेल र पानीजहाज त हँसाउने शब्द भएका छन् आजकाल।
राति लो-मान्थाङ पुग्दा चिसो निकै थियो। अट्याच बाथरुम सहितको कोठा हामीले अग्रिम बुकिङ गरेका थियौं। तर बाथरुममा पानी थिएन। यो सुदूर उत्तरमा पनि काठमाडौंकै हालत?
'बाथरुममा पानी नै छैन त', मैले साहुनीलाई सोधेँ, 'यहाँ पनि काठमाडौंमै जस्तो पानीको दुःख छ कि क्या हो?'
'हिजोदेखि नै पानी जम्न थालेको छ', साहुनीले सहजै उत्तर फर्काइन्, 'त्यसैले पानी नआएको हो।'
OOO
तराईमा जन्मे हुर्केकालाई अलिकति डाँडापाखा देख्ने बित्तिकै रमाइलो लागिहाल्छ। त्यसमा पनि हिउँ नै परेको भए त सुनमा सुगन्ध। सायद हिमालमा जन्मेहुर्केकालाई तराईतिरको समथर जमिनले लोभ्याउँदो हो। आँखामैत्री नभए पनि लो-मान्थाङको भूमि आकर्षक थियो। कताको तराई, कताको उपल्लो भूमि।
अघिल्लो बुधबार बिहान लो-मान्थाङमा हावा खासै चलेको थिएन। घाम पनि सबेरै लागेको थियो। पहेँला डाँडाहरु टल्किएका थिए। तर, चिसो घटेको महसुस हुँदैनथ्यो। बगिरहेको कुलोको दुई किनारामा बरफ देख्न सकिन्थ्यो। चिसो पानी प्रयोग गर्न सकिने अवस्था थिएन। त्यसैले पाहुनाहरुका निम्ति पानी पुर्याउन साहुनीलाई सकस परिरहेको थियो। पिउनेदेखि मुख धुनेसम्मलाई पानीको तातो पानीको जोहो गरिरहेकी थिइन्।
कोराला नाकासम्मै पुग्ने हाम्रो योजना थियो। तर, नियमित गाडी नजाने र रिजर्भ पनि भनेको समयमा गर्न नसकिने भएपछि हामी लो-मान्थाङतिरै टहल्ने निष्कर्षमा पुग्यौं। तर कहाँ टहल्ने? हामी बसेकै होटलछेउमा प्रहरी चौकी रहेछ- सीमा प्रहरी चौकी, लो-मान्थाङ। त्यतै छिर्यौं।
आधा घन्टाभन्दा बढीको गफगाफमा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक नरेन्द्र पौडेलले केही जानकारी दिए। हिउँ पर्न थालेपछि लोमान्थाङमा सरकारी प्रतिनिधि भनेको प्रहरी मात्रै हुने रहेछन्। हिउँ पर्न थालेपछि गाउँमा पनि बूढाबूढीहरु मात्रै। सक्नेहरु सबै तल झर्छन्।
'हिउँ पर्न थालेपछि यहाँ पकाएर खान समेत मुस्किल हुन्छ। पानी पाइँदैन। दाउरा हुँदैन। ग्यास जम्छ', पौडेलले सुनाए, 'चिसोमा मोबाइलको ३० प्रतिशत ब्याट्री त गफ गर्दागर्दै सकिन्छ।'
कालो चिया पिएर त्यहाँबाट बाहिरियौं। र लाग्यौं, रोयल मुस्ताङ रिसोर्टतिर।
कोर लो-मान्थाङबाट करिब डेढ सय मिटरको दुरीमा रहेको सेतो र चम्किलो यो रिसोर्ट हो, पूर्व मुस्ताङी पूर्वयुवराज जिग्मे सिंवे परवल विष्टको। मुस्ताङमा शक्तिशाली रहेको राजपरिवारको शक्ति देशमा गणतन्त्र आएसँगै खोसियो। तर, लोकप्रियता खोसिएन। अहिले पनि मानिसहरुमा जिग्मे सिंवेलाई युवराज नै भन्छन्। 'देशबाट राजा हटे पनि हामीले हाम्रो युवराज मायाले राखेका हौं', स्थानीय कर्मा आंगेल गुरुङले भनेका थिए।
युवराजका बाबु तथा पूर्वराजा जिग्मे परवर विष्टको २०७३ पुष १ गते काठमाडौंमा निधन भइसकेको छ।
नौ वर्ष लगाएर बनाएको रिसोर्ट अघिल्लो वर्षदेखि सञ्चालनमा आएको हो। चिसोले हिउँदमा बन्द हुने रिसोर्ट सिजनका सात महिनामात्रै चल्छ।
यस्तो ठाउँमा यत्रो रिसोर्ट किन त?
म्यानेजर निमा गुरुङ भन्छन्, 'यहाँ यो रिसोर्ट खुलेपछि केही हदसम्म मानिसहरु बाहिर जान रोकिन्छ। यहीँ नै केही हुन सक्छ भनेर देखाउन सकिन्छ।'
होटलको अन्य सन्देश जेसुकै भए पनि त्यहाँको जनताले युवराज भनेर यद्यपि सम्मान दिइरहेको व्यक्तिले आफ्नै व्यवसाय गर्न खोज्नु बढी महत्त्वको कुरा थियो। केन्द्रका शाही युवराज विदेशमा गाँजा तानिरहँदा यो सुदूर ठाउँका युवराज भने रिसोर्टको खाका बुन्दै रहेछन्। त्यसैले त ठडियो, रोयल मुस्ताङ रिसोर्ट।
युवराज भने काठमाडौं नै रहेछन्। उनी प्राय: काठमाडौंमै बस्छन्। मुस्ताङ गएका बेलामा पनि कहिले रिसोर्टमा र कहिले पुरानो दरबारमा बस्ने रहेछन्।
पूर्व राजपरिवारको सदस्य बस्ने दरबार रहेछ, 'कोर' लो-मान्थाङ बस्तीमा।
'वाल सिटी'का रुपमा परिचित लो-मान्थाङमा अंग्रेजी अक्षर 'एल' आकारको फराकिलो पर्खाल छ। त्यहीँभित्र छ, दरबार। २०७२ को भूकम्पले असर गरेका कारण त्यसको मर्मत हुँदै रहेछ। बाह्य मान्छे प्रवेश निषेध। यद्यपि, पर्खाल भित्रका बस्ती भने घुम्न सकिन्थ्यो। हामी उत्तरतिर रहेको मुख्य गेटबाट भित्र छिर्यौं।
'पर्खालको भित्री क्षेत्रमा १ सय २० घर थियो भनिन्छ', पौडेलले भनेका थिए, 'अहिले त बढ्यो होला।'
आपसमा जोडिएका पर्खालभित्रका घरहरु पुराना देखिन्थे। घरहरुले नै त्यो पुरानो बस्ती हो भन्ने बताउँथ्यो। मानिसहरु एकापसमा गफगाफ गरिरहेका देखिन्थे। कतैकतै पसल थिए। गत मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको चुनावका क्रममा भोट माग्न उम्मेदवारहरुले ठाउँठाउँमा टाँसेका पोस्टरहरु अझै देखिन्थे।
भित्रभित्र छिर्न साघुँरा गल्लीहरु हुँदै पार गर्नुपर्थ्यो। तर नयाँ मान्छेहरुले बाहिर निस्कन वा निश्चित ठाउँमा पुग्न गाह्रो थियो। त्यहाँका गल्लीहरु फिल्ममा देखाइनेजस्ता अलमलिने खालका थिए। हामीलाई प्रहरी पौडेलले भनेका थिए, 'तपाईंहरु नयाँ मान्छे अलमलिनुहुन्छ।'
आखिर भयो पनि त्यस्तै।
पुरानो बस्ती पर्खालभित्र भए पनि लो-मान्थाङको दायरा बाहिर पनि फैलिसकेको छ। मान्छेले उन्मुक्ति खोजेका होलान्।
लो-मान्थाङमा चिनियाँ सामानको प्रभाव अधिक देखिन्छ। तराईको सीमा क्षेत्रमा भारतीय बाइक सहजै चलेजस्तो यहाँ चिनियाँ बाइक देखिन्थ्यो। त्यतिमात्रै होइन चाउचाउ तथा बिस्कुट जस्ता तयारी खाजाहरुमा पनि चिनियाँ वर्चस्व देखिन्छ। अरु त अरु, रक्सी खानेहरुलाई सितनको रुपमा कुखुराको लेग पिस पनि आकर्षक प्लास्टिकमा प्याक भएर चीनबाटै आउँदो रहेछ। प्रतिपिस सय रुपैयाँ पर्ने त्यो सितन उति मिठो भने लागेन। बानी नपरेर पनि हुन सक्छ।
बरु ऊवाको झ्वाइँखट्टे नै मिठो। चर्चा सुने पनि सातु भने खाइएन। अघिल्लो दिन साँझमा चिसो निकै थियो, खाना कुर्नुपर्ने भयो। चिसो भएकाले झ्वाइँखट्टे खान साहुनीले सुझाइन्। झोलमै तागत भन्छन्। त्यतै भुलियो।
कोराला वा अन्यत्र जाने हाम्रो पूर्वयोजना खारेज भइसकेको थियो। त्यसैले मध्यदिनसम्म यताउता डुलिइरह्यौं। डुल्नु भनेको कुनै ठाउँमा पुग्नु र फोटो खिचाउनु। अनि फेसबुक ट्विटरमा पोस्ट गर्नु। प्राय: ठाउँमा एनटिसीको थ्रिजी नेटवर्क टिप्ने भएकाले संसार टाढा थिएन। तर, फर्किनु त पर्थ्यो नै। हामी जोमसोम फर्किन चाह्यौं। तर छुसाङसम्म पुग्ने गाडीकै समस्या थियो। सिन्डिकेट अचम्मको थियो। नयाँ मान्छेले गाडी पाउनै समस्या। तरिकै नबुझिने।
छुसाङबाट लो-मान्थाङ पुग्न एउटा जिपमा नौ जनाको समूह बन्नुपरे जस्तै छुसाङ फर्किन पनि उस्तै समूह बनाउनुपर्थ्यो।
मुख्य कुराचाहिँ सकेसम्म चाँडो काउन्टरमा पुगेर आफ्नो समूहको नाम र यात्रु संख्या टिपाउनुपर्ने रहेछ। काउन्टरअगाडि एक घन्टाजति कुरेपछि पो थाहा पायौं। नाम टिपाउँदा हामी ५ नम्बरमा पर्यौं। हामीअघि नै ९ जना भएका केहीले आफ्नो नाम टिपाइसकेका रहेछन्। कसैको ६, कसैको ४। पछि अरु पनि थपिए। सामान्यतयाः अगाडि नाम टिपाएकाहरुको पालो अगाडि नै आउँथ्यो।
त्यसदिन गाडी पातला थिए। छुसाङबाट गएका गाडीमात्रै फर्किएका थिए। लो-मान्थाङमा मानिसको चाप देखिएको थियो। छुसाङमा मानिस पातला भएकाले गाडी कम उक्लिएका छन् भन्ने जानकारी पायौं। सानोतिनो हिसाबकिताबले मान्छेलाई सास्ती थप्छन्।
छुसाङबाट आएका गाडीमा प्राथमिकता सूचीमा भएकाहरुलाई पठाउँदो रहेछ। तर, नौ जना ठ्याक्कै मिल्ने भयो भने पछि आएका पनि अगाडि नै जान पाउने। जस्तो कि, दोस्रो नम्बरमा नाम टिपाएको समूहमा छ जना छन् र सातौं नम्बरमा नाम टिपाएको ग्रुपमा तीन जना छन् भने नौ जना बनाएर उनीहरुलाई पठाउने रहेछन्।
सबैभन्दा रोचक भने यो क्षेत्रको भाडा हो। लो-मान्थाङदेखि छुसाङसम्मको करिब ६० किलोमिटरको यात्रा गर्न जिपलाई प्रतिव्यक्ति १६ सय ५० बुझाउनुपर्छ। ८/१० किलोमिटरकै भाडा पनि दुई-तीन सय लिइन्छ। तर, किलोमिटरसँग तुलना गरेर भाडाको दर मिल्दैन। जस्तो कि, बेनीबाट मुक्तिनाथसम्मको करिब ९५ किलोमिटरका लागि हामीले प्रतिव्यक्ति १२ सय तिर्यौं।
तीन वटा समूहको सदस्य मिलाएर हामी साढे २ बजेतिर छुसाङतिर झर्यौं। बाटो उही थियो, सहयात्री फरक थिए। अघिल्लो दिन ठाडो उकालो बाटो अब ठाडो ओरालो बन्थ्यो। डर त डरै हो। तर विकल्प थिएन।
हामीसँगै यात्रामा थिए, पर्यटकलाई खाना बनाउने कुकहरु। लमजुङबाट ट्रेकिङमा आएका पर्यटक र गाइड अगाडि नै गन्तव्यमा पुगिसकेका थिए। उनीहरु भने खाना पकाउने सामान बोकेर हामीसँगै ओर्लेका थिए। चार जनामध्ये एक जना पछिल्लो गाडीमा आउने भनेर निर्क्यौल भएको थियो। तर अनेकथरी सामान हालेर उनीहरुले हाम्रो गाडीमा लोड बढाइदिए। मलाई भने हाम्रो लोड नबढाइदिए हुन्थ्यो भन्ने लाग्छ। तर, लो-मान्थाङ टिकट काउन्टरका दाइ हप्काउँछन्, 'तपाईं त अनौंठो मान्छे हुनुहुँदो रहेछ। मिलेर जानुपर्छ नि!'
मिलेर हिँडेका छन् भन्दैमा जोखिम कम हुन्छ? म उसलाई केही भन्दिनँ। बल्लबल्ल पाएको गाडी थियो। किचकिच गर्यो भने अर्को ग्रुप पठाइदेला फेरि।
उसको ठाउँ, उसकै मर्जी।
१९/२० दिनको यो ट्रेकिङको अन्तिमतिर आइपुग्दा कुकहरु थाकेका जस्ता देखिन्थे। एक जनाको घर उदयपुर र दुई जनाको ओखलढुंगा रहेछ। पर्यटकहरुलाई दैनिक फरकफरक प्रकारका खाना पकाउँदा रहेछन्। त्यसैले पनि उनीहरुको सामान धेरै थियो। पकाउने स्टोभदेखि त्यसमा हाल्ने मट्टीतेलसम्म उनीहरुले बोकेका थिए।
कमाइ भने दिनको हजार रुपैयाँ हुँदो रहेछ। त्यो पनि ट्राभल कम्पनीले दिने। पर्यटकहरुले दिने टिप्स अतिरिक्त कमाइ भइहाल्यो। तीन महिना यसरी हिँड्न सकिने रहेछ। तर गाइडहरुसँग चिनजान हुने भएकाले सिजनमा कामको भने कमी नहुने उनीहरुले बताए।
बथान बनेर कुदिरहेका च्यांग्राले कहिलेकाहीँ गाडीलाई छेकिदिन्छन्। गाडीको हर्नसँगै ती अलमलिन्छन् र गुरुरु एकातिर कुद्छन्।
कतिपय ठाउँमा राता वा पहेँला दाना लटरम्मै फलेका स्याउका बोटहरु सडक छेउसम्मै लत्रिएका हुन्छन्। काठमाडौं लगायत अन्य सहरमा सडक छेउको साइकलवालासँग स्याउ किन्ने हामीहरुलाई हातैले टिप्न सकिनेगरी झुत्ता लागेको स्याउ सडक किनारामै देख्दा आनन्दित लाग्छ नै।
कतै पहिरोको खोँचबाट बनाइएको जोखिमपूर्ण बाटो पार गरेर डाँडामा निस्किँदा सेता हिमाल चम्किन्छ। दक्षिणतिर। यात्रालाई रोमाञ्चक बनाइरहन्छन् यस्ता दृश्यले।
हाम्रा मोबाइल सक्रिय हुन्छन्- क्लिक, क्लिक, क्लिक।
कहिले तीव्र र कहिले सुस्त गतिमा जिप अगाडि बढिइरह्यो। यता प्राय: कालो नम्बर प्लेटका गाडी देखिन्छन्। कहिलेकाहीँ हरियो देखिए पनि रातो भने निकै पातला। रातो नम्बर प्लेटका गाडीका चालकहरु भने बढी डराएको थाहा पाइन्छ। साइड दिनेबेला उनीहरुले भीरतिरको साइड लिनुपर्ने भए पनि भित्तातिर मोड्छन् र अर्को गाडीको ड्राइभरलाई लाचार पाराले हेर्छन्। 'यो डरायो', हाम्रा ड्राइभर भन्थे र छेउबाटै गाडी अगाडि बढाउँथे।
सानो गाडीमा यात्रा गर्नुको एउटा फाइदा के भने, केही छिनको यात्रामै यात्रुहरु एउटै परिवारका सदस्यजस्ता भइदिन्छन्। अघिल्लो दिन बाइकमा लो-मान्थाङ पुगेका एक युवा पनि हामीसँगै गाडीमा फर्किरहेका थिए। उनले चलाएको बाइक एक्सिडेन्ट भएकाले उनी हामीसँगै जोडिए। उनी बंगलादेशमा चिकित्सा शिक्षा पढिरहेका रहेछन्। सहकर्मी प्रवीण र सीताराम केही महिनाअघि बंगलादेश नै पुगेर त्यहाँको चिकित्सा शिक्षाको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। गफको विषय भइहाल्यो।
झापातिरकी एउटै 'प्लस टु' अध्ययनरत युवती पनि हामीसँगै थिइन्। नातामा राष्ट्रपति विद्यादेवी भण्डारी ठूलोममी पर्छिन् भन्दै थिइन्। साहित्यका किताब पढ्दी रहिछन्। 'सुबिन भट्टराईको प्रिय सुफी त झोलामै बोकेर हिँडेकी छु', भन्दै थिइन्, 'उनको त सबै किताब पढेको छु।'
कहिलेकाहीँ फाट्टफुट्ट किताब पढ्ने भए पनि उनीसँग पुस्तककै बारेमा गफ गर्न मसँग विषय भएन। सुबिनको मैले केही पढेकै छैन। पल्पसा क्याफे, कर्णाली ब्लुज लगायतका केही नयाँ र केही पुराना पुस्तकको नाम लिएँ, उनले पढेकै छैन। 'तपाईं न्याय, ७२ को विस्मय, अच्युतकृष्ण खरेल पढेर आउनुभएको मान्छे। यिनी सुबिन भट्टराईको किताबै बोकेर हिँड्ने फ्यान', प्रवीणले हस्तक्षेप गर्दै भन्यो, 'कसरी कुरा मिल्छ?'
जसरी डाक्टर भन्दैमा समान हुँदैन। पढ्ने भन्दैमा पनि समान नहुँदो रहेछ। मान्छेका दुःख नि!
यात्रा जारी थियो। आजै छुसाङ पुगेर जोमसम्म जान पाए हुन्थ्यो भन्ने हाम्रो चाहना थियो। तर, शंकाचाहिँ कस्तो लाग्दैथ्यो भने, छुसाङका होटल साहुसँगको मिलेमतोमा लो-मान्थाङबाट गाडी यसरी हिँड्छन् कि राति छुसाङमै यात्रुको बास होस्। शंका मेरो मात्रै थिएन, गाडीका अरु यात्रुका पनि थियो। लो-मान्थाङमा प्रतीक्षारत अरु पनि त्यस्तै शंका गर्थे।
त्यसो त, जहाँ भए पनि अर्कैको होटलमा बस्नु नै हो। 'आमाको होटलमा खाएर बाउको लजमा सुत्ने' सुविधा हामीलाई कहाँ थियो र?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।