काठमाडौं– कालो वर्णको कसिलो शरीर। झ्याम्ल्याङ्ग कैलो कपाल। तिलचामले लामो दारी। सेतो फ्रेमको पावरदार चस्मा।
_x000D_ _x000D_
झट्ट हेर्दा कुनै चिन्तक जस्तै देखिन्छन्, नारायण रिजाल (विक)। २२ वर्षअघिको भन्दा उनको हुलियामा खास फरक छैन। तर दुई दशकभन्दा लामो कालखण्डमा धेरै परिवर्तन भोग्यो देशले। जुन परिवर्तनका लागि उनी लागेका थिए, त्यसको भोग गर्न पाएनन्। राज्यसत्ता कब्जा गर्नुपर्छ भन्दै 'जनयुद्ध'मा लागेकाहरु प्रधानमन्त्री भइसके तर नारायण पुन: त्यहीँ जमिनमा आइपुगेका छन्, जहाँ उनी आरन चलाउँथे।
_x000D_ _x000D_
OOO
_x000D_ _x000D_
२०५३ सालमा उदयपुरको रिस्कु गाविस (हाल कटारी नगरपालिका–७) का नारायण घरबाट एकाएक बेपत्ता भए। बोल्न नसके पनि तेजिलो दिमागका उनी कतै गए होलान्, फर्केलान् भन्दै परिवार आसमा बस्यो। एक दिन, दुई दिन गर्दै महिना बित्यो तर उनी फर्किएनन्। भाइ लीलबहादुर भन्छन्, ‘चिनेजानेको सबै ठाउँमा सोधपुछ गर्यौं। तर अत्तोपत्तो पाइएन।'
_x000D_ _x000D_
आरनबाटै परिवारका एक दर्जन सदस्यको खानपान सहज बनाइदिएका थिए उनले। उनी नै बेपत्ता भएपछि सबैमा चिन्ता छायो। लीलबहादुर निस्किए, दाइको खोजीमा।
_x000D_ _x000D_
न त्यसबेला अहिले जस्तो फोन थियो। न यातायातको सहजता। 'आफ्ना नरनातो भएका सबैतिर सोध्दै-खोज्दै, महोत्तरी पुगेँ,' त्यसबेलाको पट्यारलाग्दो हिँडाइ सम्झिँदै उनी सुस्केरा हाल्छन्, 'जिन्दगीको सबैभन्दा पीडाको क्षण नै त्यही लाग्छ मलाई।’
_x000D_ _x000D_
दाइको कुनै खुटखबर थिएन। न त कुनै सूचना। माओवादी सशस्त्र युद्धको राप र तत्कालीन शाही सेनाको रवाफबीच दाइ भेटिने झिनो आशा मात्र थियो उनमा। कामको सिलसिलामा दिल्ली र मुम्बईको कुनाकाप्चासँग परिचित उनलाई त महोत्तरी नै नौलो लाग्यो त्यो बेला।
_x000D_ _x000D_
महोत्तरी हात्तीलेटमा भिनाजु नाताका जंगले विकको घर थियो। दाइको खोजीमा भौंतारिएका उनी सोध्दैखोज्दै भिनाजुकहाँ पुगे। जतिबेला नारायण हराएकै तीन महिना बितिसकेको थियो।
_x000D_ _x000D_
---
_x000D_ _x000D_
जब भिजानुको आँगनमा पाइला टेके लीलबहादुरले, उनमा एकाएक हर्षको आँसु खस्यो। किनकि नारायण हँसियामा रेती लगाउन व्यस्त थिए। तीन-तीन महिनासम्म खोजखबर गर्दा पनि पत्ता लाग्न नसकेका दाजु फेला पार्दा उनको मुटु गाँठो पर्यो। भक्कानो छुट्यो।
_x000D_ _x000D_
‘दाजुलाई देखेपछि खुसीले मेरा आँखा रसाएछन्। मन थाम्नै सकिनँ। ऊ त मलाई हेरेको हेर्यै भयो,’ उनी त्यो क्षणलाई सम्झन्छन्, 'दाजुले आफ्नै भाषामा कसरी आइपुगिस् भनेर सोधीखोजी गर्यो।’
_x000D_ _x000D_
एकैछिनको बसाइमा आफूले सिकेको सिपबारे बेलीविस्तार लगाउन भ्याइसकेका थिए नारायणले। पेस्तोल, बन्दुक, गोली लगायत सबै किसिमका विस्फोटक पदार्थ र हतियार बनाउन सिकेको भन्दै हौसिइरहेका थिए। त्यसबेला भिनाजु भने हतियार बनाउने सामान लिन सीमापारि भारत गएका रहेछन्।
_x000D_ _x000D_
‘यस्तो डरलाग्दो ठाउँ, त्यहाँ बस्न मैले उपयुक्त देखिनँ। कतिखेर आफू फसिन्छ पत्तो नै नहुने सोचेर त्यसै दिन घर फर्किने भनेर त्यहाँबाट हिँडे,’ लीलबहादुरले सुनाए। दाइलाई लिएर आउन उनले अनेक प्रयास गरेछन् तर, ‘हतियार बनाउन अझै सिक्नुछ' भन्दै उनी घर आउनै मानेनन्।
_x000D_ _x000D_
बोल्न सक्दैनन् नारायण। दिमागी तेजमा भने कम छैनन्। आफूलाई लिन आएको भाइलाई साइकलमा चढाएर गाडी चढ्ने ठाउँसम्म पुर्याए। ‘यो यति बाठो छ कि म घर फर्किने भएपछि गाडी भाडा भन्दै पाँच सय रुपैयाँ खल्तीमा हाल्दियो,’ दाइले बिदा गरेको क्षण सम्झिन्छन्, लीलबहादुर।
_x000D_ _x000D_
‘आरनको सिपले राज्यसत्ता कब्जा’
_x000D_ २०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गर्यो। त्यसपछि भूमिगत रुपमै ऊ देशव्यापी संगठन विस्तारमा लाग्यो। मंगलेको सिप थाहा पाएका माओवादीका स्थानीय नेताहरुले ‘आरनमा बस्नु हुँदैन, राज्यसत्ता कब्जा गर्नुपर्छ’ भन्दै त्यसबेला फकाउने गरेको सम्झन्छन्, बर्दीबास नगरपालिका–८ का वडाध्यक्ष शमशेरसिंह लामा। माओवादीका तर्फबाट निर्वाचित उनी मंगलेका छिमेकी पनि हुन्।
_x000D_ _x000D_
२०५३ सालमा पाँच महिनाजति भिनाजु मंगलेसँगै बसेर नारायणले हतियार बनाउन सिके। केही महिना जंगलमै बसेर सिप खिपिइरहे। हतियार बनाउन निपुण भएपछि मात्रै उनी रिस्कु फर्किए। त्यसबेला रिस्कुकै माओवादी नेता सोमबहादुर माझी र विष्णु पोखरेल निकै प्रख्यात मानिन्थे। उनीहरुले पटकपटक नारायणलाई 'जनयुद्ध'मा पूर्णकालीन बनाएर लैजान पनि खोजेका थिए।
_x000D_ _x000D_
लीलबहादुर सम्झन्छन्, ‘माओवादीले दाजुलाई लान धेरै पटक प्रयास गरेको थियो। 'बोल्न नसक्ने, कान नसुन्ने यस्ता मान्छे लगेर तपाईंहरुले के गर्न खोज्नुभएको' भनेपछि मात्रै चुप लागे।'
_x000D_ _x000D_
उनलाई नलगे पनि माओवादी कार्यकर्ताहरु भने घरमा आउने क्रम रोकिएन। सिपबारे थाहा पाएका उनीहरु हतियार बनाउन आग्रह गर्दा रहेछन्। त्यसबेला रातभर नसुती माओवादीका हतियार बनाउँथे उनी। 'कतिखेर प्रहरी आउँछ र हामीलाई नै मार्छ भन्ने डर थियो। यति गर्दा पनि भएन। अन्तत: दाजुलाई माओवादीले लगेरै छोडे,’ उनी सुनाउँछन्।
_x000D_ _x000D_
त्यसपछि भने नारायण पूर्ण रुपमै माओवादी समूहमा मिसिए। सुरुमा सिन्धुली, उदयपुर र ओखलढुंगातिरका जंगलमा उनको 'शिविर' स्थापना भयो, हतियार बनाउने। दुई-तीन महिनामा एक पटक घर आउँथे। पुन: फर्किइहाल्थे। किनकि घरमा सेना-प्रहरीबाट जोखिम बढिसकेको थियो। यो क्रम झन्डै ६ वर्षसम्म चलिइरह्यो।
_x000D_ _x000D_
संयोग मान्नुपर्छ, ६ वर्षको अवधिमा उनलाई केही भएन। तर, उनलाई माओवादी युद्धमा लाग्न उत्प्रेरणा दिने गाउँले नेता सरकारी कारबाहीमा मारिए। 'सोमबहादुर माझीको २०५५ र विष्णु पोखरेलको २०५६ सालमा गाउँ नजिकको जंगलमा सरकारी पक्षबाट हत्या भयो,' कटारी–७ का वडाध्यक्ष धनुकमार दनुवार बताउँछन्।
_x000D_ _x000D_
हतियार गाडियो बाँसको झ्याङमा
_x000D_ संकटकालको बेला हतियार बनाउनु, त्यो पनि माओवादीका लागि। निकै जोखिम मोलेका थिए, नारायणले। उनी मात्र होइन सरकारी पक्षबाट आँखाको तारो बन्थ्यो सिंगो परिवार।
_x000D_ _x000D_
हतियार बनाउने सामान लिन भारतसम्म पुग्थे उनी। जाँदा गाडीमा र फर्कंदा पैदल आउँथे। सिरहाका विभिन्न नाकाबाट प्रहरीलाई छक्याउँदै उदयपुरबाट डङ्डङे खोला हुँदै भोर्ले निस्कन्थे।
_x000D_ _x000D_
‘एक कान, दुई कान, मैदान’ भनेझैं उनी माओवादीका लागि हतियार बनाउँछन् भन्ने चर्चा सर्वसाधारणदेखि सेना, प्रहरी, छिमेकी जिल्लासम्म फैलिइसकेको थियो।
_x000D_ _x000D_
-जस्तो भन्यो त्यस्तै।
_x000D_ -कति राउन्ड जाने भनी सोधीसोधी बनाउँछ रे।
_x000D_ -एक पटक हेरेपछि मिस खाँदैन रे।
_x000D_ -माओवादीका त कैयौं हतियार बनाइसक्यो रे।
_x000D_ _x000D_
नारायणको सिपको बारेमा यस्तै 'रे'का हल्ला व्यापक भइसकेको थियो।
_x000D_ _x000D_
संकटकालकै समयमा प्रहरी टोली दुई पटक उनको घरमा छापा मार्न पुग्यो। लीलबहादुर भन्छन्, ‘एक पटक आउँदा केही पनि भेटेनन्, त्यसै फर्किए। अर्को पटक आउँदैछ रे सूचना आएपछि दाजुले हतियार र हतियार बनाउने सामान बाँसको झ्याङमा गाड्न भ्याइसकेको थियो। तब मात्रै बाँचियो।’
_x000D_ _x000D_
रहेनन् गुरु मंगले
_x000D_ नारायणले माओवादी युद्धलाई जति योगदान गरे, त्योभन्दा बढी उनलाई हतियार बनाउन सिकाउने गुरु मंगले विकले गरे। तर, युद्धलाई सहयोग गरेबापत उनले केही पाएनन्। पार्टीप्रति असन्तुष्टि जनाउँदै आएका उनै मंगलेको गत ८ गते काठमाडौं मोडल अस्पतालमा निधन भयो।
_x000D_ _x000D_
वडाध्यक्ष शमशेरसिंह लामा भन्छन्, 'पार्टीको झन्डा ओढाएर दाहसंस्कार गर्नुबाहेक अरु केही गर्न सकिएन।’
_x000D_ _x000D_
मंगलेमा राजनीतिक सुझबुझ निकै राम्रो थियो। २०३६ सालमा निर्मल लामाको चौथो महाधिवेशन पार्टीमा आबद्ध थिए। त्यसबेलादेखि नै कम्युनिस्ट राजनीतिमा लागेका उनी पछि पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा जनयुद्ध सुरु भएपछि २०५२ सालमा माओवादी प्रवेश गरे।
_x000D_ _x000D_
नारायणकाजी श्रेष्ठ नेतृत्वको जनमोर्चाबाट माओवादीमा आएका वडाध्यक्ष लामा भन्छन्, ‘युद्धकालमा माओवादीलाई उहाँले ठूलो सहयोग गर्नुभएको हो। त्यसलाई बिर्सन सकिन्न।’
_x000D_ _x000D_
भारतका विभिन्न ठाउँबाट सामान ल्याउनु र हतियार बनाउनु युद्धकालमा मंगलेको 'भूमिका' थियो।
_x000D_ _x000D_
मंगले र नारायणको माओवादीले भरपूर उपयोग गरे। ‘मरेको बाख्रोलाई उपियाँले पनि छाड्छ’ भनेझै युद्ध सकिएपछि यी दुवैलाई फर्किएर पनि हेरेन। पार्टीले बेवास्ता गरेको निधन हुनुअघिसम्म पनि मंगले गुनासो गरिरहन्थे।
_x000D_ _x000D_
सशस्त्र युद्ध सकिएर २०६३ सालमा शान्ति सम्झौता भयो। ज्यान जोखिममा राखेर डटेका मंगलेलाई माओवादीले कतै व्यवस्थापन गरेन। उनी फेरि पहिलेकै आफ्नो पेसामा फर्किए। दैनिकी गुजार्न र परिवार पाल्न आरन चलाए। भुत्ता हतियारमा साँध लगाए। आफूले जानेको हतियार बनाउने कलालाई पनि उनले लुकिछिपी निरन्तरता दिन थालेका थिए।
_x000D_ _x000D_
उनले भोगेको दु:खबारे वडाध्यक्ष लामा भन्छन्, ‘युद्धकालमै दुई-तीन पटक घरमा प्रहरीले छापा मारेको थियो। एक पटक समात्यो र माओवादीमा नलाग्न भन्दै सम्झाएर छाड्यो। एक पटक युद्धकालमै उनलाई प्रहरीले पक्राउ पनि गर्यो। एक महिना हिरासतमा बसेपछि छुटेका थिए।'
_x000D_ _x000D_
हतियार बनाउँदा-बनाउँदै घरैबाट २०६९ सालमा मंगले पक्राउ परे। हातहतियार तथा खरखजना मुद्दामा चार वर्ष कैद सजाय सुनाइयो। २०७२ को भूकम्पपछि ६० वर्षमाथिका कैदीको केही महिना कैद मिनाहा गर्ने सरकारको निर्णयसँगै उनी तीनवर्षे जेल जीवनबाट रिहा भए।
_x000D_ _x000D_
गह्रुँगो घन उचाल्दै आरनमा फलाम पिटेका र माओवादीका थुप्रै हतियार बनाएका मंगलेका नाडी अब गलिसकेका थिए। रोगले च्याप्न थालिसकेको थियो। रक्सीकै कारण फोक्सो खिइँदो थियो।
_x000D_ _x000D_
स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई दसैंअघि काठमाडौं मोडल अस्पताल ल्याइयो। १० दिन उपचार गरेर डाक्टरले ‘अब सम्भव छैन’ भनेपछि परिवारले फर्काएर घर पुर्याए। तर, बचाउन सकेनन्। आर्थिक अवस्था कमजोर भएका उनका पाँच छोरी र दुई छोरा छन्।
_x000D_ _x000D_
२२ वर्षअघिकै अवस्थामा नारायण
_x000D_ ठूलो संघर्ष र हजारौंको बलिदानीपछि माओवादी राजनीतिको मूलधारमा आयो। देशमा निरंकुश राजतन्त्र हट्यो। जनताको शासन भनिने लोकतन्त्र आयो। तर, जनयुद्धका हिस्सा बनेका नारायणको अवस्था भने २२ वर्षअघिको भन्दा फरक छैन अहिले।
_x000D_ _x000D_

_x000D_ _x000D_
गाउँलेहरुका खुकुरी, हँसिया बनाएर पनि हातमुख जोर्न धौधौ छ, उनलाई। पहिले माओवादीका हतियार बनाएको भन्ने थाहा पाउने पनि आउँछन्, उनीकहाँ। ‘मलाई बन्दुक चाहियो। कति पैसा दिनु?' भन्दै आग्रह गर्दा रहेछन्। तर आफूले सो काम छोडिसकेको उनले बताए। इसाराकै भाषामा ५१ वर्षीय उनी भन्छन्, 'त्यस्तो काम गर्नु हुँदैन। प्रहरीले हत्कडी लगाएर लैजान्छ।'
_x000D_ _x000D_
तर बेलाबेला प्रहरी आएर दु:ख दिने गरेको उनले गुनासो गरे। इलाका प्रहरी कार्यालय कटारीले दुई पटक पक्राउ गरेर लगेको परिवारका सदस्य बताउँछन्। 'पछि हतियार बनाउन छाडेको बुझेपछि आएका छैनन्,' भाइ लीलबहादुरले सुनाए।
_x000D_ _x000D_
राज्यले समेत हेरेन
_x000D_ गाउँमा धेरैले उनलाई गफाडी नै भनेर चिन्छन्, उदयपुरसँग सिमाना जोडिएको दुधौली नगरपालिका–७ का हेमबहादुर हमाललाई। गफैगफमा उनले कुरो चुहाए, ‘भन्दा मान्छेलाई गफ लगाए जस्तो हुन्छ। रिस्कुमा एउटा बुच्चे भन्ने बोल्न नसक्ने मान्छे छ। आर्मी-पुलिसका हतियारभन्दा 'सोलिट' बनाउँछ। माओवादीले समेत अपहरण गरेर हतियार बनाउन लगेको थियो नि उसलाई।’
_x000D_ _x000D_
यस्तो हल्ला पहिले पनि सुनेको थिएँ मैले। रिस्कुतिरै काम गर्ने हमालको कुरामा पक्कै दम छ भन्ने मलाई लाग्यो र दसैंको अष्टमीका दिन बिहान ९ बजे हमालको साथ लागेर म लागेँ रिस्कुतर्फ। रिस्कु २०-२२ किलोमिटर टाढाको ठाउँ भए पनि मेरा लागि नौलो थियो।
_x000D_ _x000D_
मोटरसाइकल जान नसक्ने बुझेपछि साइकल लिएर हिँड्यौं हामी, कटारीपूर्वको रिस्कुतर्फ। बाटो भर्खर खन्दै गरेको अवस्थामा थियो। कहीँ बालुवामा साइकल फस्थ्यो त कतै ढुंगैढुंगाकोको उकालोमा ठेल्नुपर्थ्यो। कैयौं ठाउँमा त साइकललाई काँधमा बोक्नुको विकल्प थिएन।
_x000D_ _x000D_
कटारीबाट तल्लो भोर्ले, माथिल्लो भोर्ले, जंगलको बाटो, खहरे, खोल्सा हुँदै हामी रिस्कु उक्लिन लागेका थियौं। त्यसबेला दिउँसोको १२ बज्नै लागेको थियो।
_x000D_ _x000D_

_x000D_ _x000D_
रिस्कुका विभिन्न गाउँमा सिकर्मीको काम गरेका हमालले एक-दुई पटक नारायणलाई भेटेका रहेछन्। त्यसभन्दा बढी हिमचिम थिएन। नारायणसँग कुरा गर्न परिचित मान्छेको आवश्यकता थियो मलाई। संयोग, हाम्रै गाउँबाट केही समय पहिला रिस्कु बसाइँ सरेका अम्बरबहादुर विक (कामी कान्छा) नारायणकै बहिनी-ज्वाइँ पर्दा रहेछन्। अम्बरबहादुरलाई अघि लगाएर आधा घन्टा हिँडेपछि हामी नारायणको घर पुग्यौं।
_x000D_ _x000D_
---
_x000D_ _x000D_
बाटोभन्दा मुनि बाँसको भाटाले बारिएको सानो घर। घरकै दक्षिण बाँसघारीको शीतल छहारी नजिकै आरन। आरनको छानो भनेकै आकाश। आगो र अँगारसँग खेलेका नारायणका हातखुट्टा झन् कालो देखिन्थ्यो। दिउँसो १ बजे भेट्दा उनी खुकुरीमा साँध लगाइरहेका थिए।
_x000D_ _x000D_

_x000D_ _x000D_
यही बेला खुसुक्क खल्तीबाट मोबाइल झिकेर उनको एक क्लिक फोटो लिएको मात्रे थिएँ, चतुर नारायणले थाहा नपाउने कुरै भएन। आक्रोशित उनको आँखाबाट अग्निज्वालाझैं निस्कियो। उनी आफ्नै शब्दमा गाली गर्न थाले।
_x000D_ _x000D_
नजिकै रहेका भाइ लीलबहादुर उनीबारे थप विस्तार गर्दै थिए, ‘एक हप्ता भयो, एक दिन फुर्सद छैन उसलाई,' भात पनि पकाएको छैन। चाउचाउ र चिउरा खाएर काम गरेको छ। अलिकति रक्सी खान्छ, पराग खान्छ अनि काम गर्छ।’
_x000D_ _x000D_
OOO
_x000D_ _x000D_
गाउँले नेताद्वय माझी र पोखरेलको हत्या गरिएपछि माओवादीले कटारी–७ रिस्कु चोकमा दुवैको सालिक बनाएको छ। त्यही सालिक नजिकै भएर वैधनाथ खोलो बग्छ। नारायणको घर पुग्न खोलो तरेर उकालो चढ्नुपर्छ। त्यसपछि थोरै आरोलो सकिएपछि बाटोभन्दा तल पर्छ उनको घर।
_x000D_ _x000D_

_x000D_ _x000D_
माओवादीले बेवास्ता गरे पनि अब गुनासो छैन उनको परिवारमा। तर, राज्यले समेत नहेरेकोमा भने निकै चित्त दुखाएका रहेछन्, लीलबहादुरले।
_x000D_ _x000D_
कान सुन्दैनन्। बोल्न सक्दैनन्। कापी वा भुइँमा कोरेर इसाराले कुरा गर्छन् नारायण। यस अर्थमा उनी बहिरा हुन्। तर, अपांगता भएबापत राज्यबाट पाउने सुविधा उनले पाएका छैनन्। यसबारे वडा कार्यालयमा पटकपटक कुरा गर्दा पनि वडाध्यक्षले नै बेवास्ता गरेको लीलबहादुरले गुनासो गरे।
_x000D_ _x000D_
‘अपांग भन्न मिल्दैन। हातखुट्टा लागेकै छ। सिप छँदैछ। कमाएर खाएकै छ’ भनेर वडाध्यक्षले भन्ने गरेको उनी बताउँछन्।
_x000D_ _x000D_
यसबारे वडाध्यक्ष धनकुमार दनुवारसँग बुझ्दा उनले अपांगताको परिचयपत्र नहुँदा राज्यबाट पाउने सेवासुविधा नपाएको बताए। ‘ऊ जस्ता अरु अपांगता भएकाले राज्यबाट सुविधा पाएकै छन्। उनको हकमा परिचयपत्र नभएर यस्तो भएको हो,’ वडाध्यक्ष दनुवारले भने।
_x000D_ _x000D_
दसवर्षे सशस्त्र युद्ध छेडेको माओवादीले उक्त अवधिमा धेरै क्षति भोग्यो। त्योभन्दा बढी क्षति राज्यले खेप्नुपर्यो। एमालेसँग एकतापछि अब 'माओवादी पार्टी' रहेन तर नारायणहरु अझै यो देशमा छन्। जोसँग पार्टीले त्यसबेला देखाएको सपना बाँकी नै छ।
_x000D_ _x000D_
धुलाम्य भएर फलाम पिटिइरहेका नारायणहरुले देखेको सपना कहिले पूरा होला?
_x000D_ _x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।