निर्देशक तथा समीक्षक नवीन सुब्बाले आफ्नो एक आलेखमा अभिनेता दयाहाङ राईको बढ्दो फिल्मको संख्या र गुणस्तर हेर्दै उनी नेपाली अभिनेता राजेश हमालको पुनरावृत्तिबाहेक अर्को हुन नसकेको भनेर चर्को आलोचना गरे।
दया यो आलोचनालाई स्विकार गर्छन्। भन्छन, ‘हो हामीले अग्रज र दर्शकको अपेक्षा पूरा गर्न सकेनौ।’ दयालाई अहिले भ्याइनभ्याई छ। उनी कम फिल्म गर्न चाहन्छ तर सकिरहेका छैनन्। उनै दयासँग नेपाल लाइभले गरेको कुराकानी।
अब यो वर्ष कतिवटा फिल्मको सुटिङ बाँकी छ?
मैले गर्छु भनेर फिक्स गरेको दुईवटा छ।
यो वर्षदेखि फिल्म कम गर्न थालेको हो?
कम गर्छु भन्ने मेरो पहिला देखिको योजना हो तर आफूले भनेर मात्र धर नपाइने रहेछ।
गार्हो कसरी?
साथीभाइ त्योसँग जोडिएका कारणले गर्दा हो। फेरि खाली समय भइरहेको अवस्थामा नयाँ टिम हेरेर, गरौं न त भनेर गरिन्छ। मुख्य कुरा निरन्तर फिल्म गरिरहँदा सिक्ने अवसर मिल्छ।
अनि तपाईलाई धेरै फिल्म गर्यो भनेर आलोचना सुन्दा कस्तो लाग्छ ?
आलोचना एकदम सहि हो। मेरो पनि सोच हैन कि म यति धेरै फिल्म खेल्छु भन्ने। पहिला मलाई अभिनेताका रूपमा वर्षको एउटा पनि फिल्म धान्छु भन्ने लाग्दैन्थ्यो। मसँग त्यति धेरै गर्न सक्ने ज्ञान र शक्ति छ भन्ने थाहा थिएन।
निर्देशक नवीन सुब्बाले खुलेआम तपाईं राजेश हमालको पुनरावृति भनेर आलोचना गरेका छन्?
त्यो सत्य हो। उहाँले आज पनि भनिरहनु हुन्छ, सम्झाइ रहनुहुन्छ। हामीमाथी अपेक्षा ठूलो छ। जुन पूरा गर्न नसकेकै हो। हिजो हामीलाई स्यावासी दिनुभयो, बाटो देखाउनुभयो। उहाँहरूको अपेक्षा हामीले पूरा गर्न सकेनौ। यसमा हामीले अंग्रजहरूको मात्र नभएर हाम्रा गुरूहरूको र दर्शकको समेत अपेक्षा पूरा गर्न असफल भएकै हौ।
फिल्म छान्दा तपाईंका लागि पात्र प्रमुख हुन्छ कि फिल्म?
मुख्य कुरा फिल्म नै हो। फिल्मको कथा हेर्ने काम प्रमुख हो तर त्यसरी छानेर गरेका फिल्म कम छन्। यसमा सम्बन्ध र अपेक्षा पनि जोडिन्छन्। अपेक्षा यस अर्थमा कि कुनै फिल्मको प्रस्ताव आउँदा यो टिमले राम्रो गर्छ भन्ने हो।
निर्देशन डेव्युको चर्चा चलेको धेरै भयो, खास कुरा के हो?
सिनेमासँग मेरो समबन्ध हेर्दा म अभिनयभन्दा निर्देशनमा हुनुपर्ने हो। योे कुरा मेरो मनभित्र अझै छ। तर बुझ्दै जाँदा मभित्र त्यत्रो क्षमता रहेनछ। त्यसको तयारीका लागि विस्तारै सिक्ने प्रक्रिया जारी छ।
निरन्तर फिल्म गरिरहँदा र एउटा नाटक निर्देशकका हिसाबले यी दुईको भिन्नता के हो?
माध्यम फरक भएकाले फरक त भइहाल्छ। म नाटकलाई प्रत्यक्षरूपमा देखिहाल्छु। ३–४ हप्तामा म मेरो नाटकको दृश्य के हो स्पष्ट हुन्छु तर सिनेमामा सिन र सट हेर्दै जाँदा कस्तो देखिएला भन्न पर्खनै पर्छ।
नयाँ नाटक कहिले आउँछ?
एउटा कथा तयार पारेर राखिसकेको छु। नाटक गर्छु भनेर राखेको निकै लामो समय भयो। मैले त्यसका लागि समय निकाल्न सकिरहेको छैन। त्यो माथी काम गर्न मलाई ४–५ महिना समय लाग्छ।
त्यो नाटक कहिले हेर्न पाइनेछ?
यो वर्ष त्यसको कुनै सम्भावना छैन। सायद अर्को वर्ष। यो वर्ष त्यसको स्क्रिप्ट तयार पारिसक्छु। म जुन शैलीमा काम गरिरहेको छु, त्यो मेरो आफ्नो शैली हो।
यो वर्ष आएका फिल्महरू कस्तो लागिरहेको छ?
स्पष्ट भन्नु पर्दा पैसा कमाउने पाटोमा हामी सफल भयौ होला तर सिर्जनात्मक हिसाबले केही गर्न सकेका छैनौं। यो वर्ष बहस गरौं न भन्ने फिल्म कुनै आएका छैनन्। ’गुडबाई’ काठमाडौं आउँदैछ, त्यसले केहि गर्ला भन्ने आश छ। हामी बजार केन्द्रित सिनेमा नै सोचिरहेका छौं। मिडियामा पनि व्यवसायिक चर्चाबाहेक सिनेमाको अर्को गतिलो चर्चा गर्ने सिनेमा छैन।
’लुट’ रिलिज पश्चात एउटा लहर आयो तर समग्रमा ’लुट पुस्ता’ बजारको कब्जामा पर्यो। हैन र?
हो हामी बजार केन्द्रित र त्यसैको कब्जामा पुग्यो। हामी त्यसमा किन पुग्यौ भने ’लुट’ आउँदा सिनेमा शुन्यमा थियो। संकटकाल लगाउने चर्चा हुँदै थियो। त्यसैले सिनेमाले ह्वातै बजार त बढायो। अहिले सोच्दा के लाग्छ भने हामी धेरै काठमाडौं बाहिर बाट आएका रहेछौ, जसलाई अभिनयसँगै अभ्यस्त हुनुपर्ने पनि रहेछ। हामी त्यसैको भासमा फस्यौ। हाम्रो नेपाली समाज कस्तो रहेछ भने एकजनाको कमाइमा सबै आश्रित हुनुपर्ने। त्यो सँगसँगै जाँदा हामी बजारका भयौ।
अब के हुन्छ?
नयाँ बहसहरू आउँदैछन्। हामीसँग नियमित काम गरेका साथीहरूले केही गर्लान भन्ने आशा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।