काठमाडाैं- नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउने भएका छन्।
_x000D_
_x000D_
दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले सोमबार आयोजना हुने विशेष समारोहमा हस्ताक्षर गर्ने भएका हुन्।
_x000D_
_x000D_
नेपाल र मलेसियाबीच डेढ दशकदेखि श्रम सम्बन्ध रहेपनि आहिलेसम्म श्रम सम्झौता हुन सकेको छैन। विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन।
_x000D_
_x000D_
श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन गत महिना नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो। गत असोज १२ गते मलेसियाको पुत्राजयमा नेपाली पक्ष र मलेसियाली पक्षबीच सम्झौताको एमओयुमा सहमति जुटेको थियो।
_x000D_
_x000D_
रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम लाभ प्राप्त गर्ने गरी सम्झौतामा हस्ताक्षर हुन लागेको श्रममन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए ।
_x000D_
_x000D_
सम्झौतामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने उल्लेख छ। यससँगै मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा शुल्क तिर्नुपर्ने छैन। त्यस्तै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो पनि सम्झौताले सम्बोधन गरेको मन्त्रालयले जनाएको छ।
_x000D_
_x000D_
यसबीचमा नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नेसम्बन्धी समझदारी (एमओयु) को खाका तीन पटकसम्म आदानप्रदान भएको थियो।
_x000D_
_x000D_
रोजगारी खुल्न केही समय लाग्ने
_x000D_
श्रम सम्झौतामा हस्ताक्षर भए पनि नेपाली कामदारका लागि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्ने भएको छ। नेपाल र मलेसिया सरकारबीच सम्झौतामा हस्ताक्षर भए पनि प्राविधिक तयारी गर्नुपर्ने भएकाले तत्काल मलेसियाका लागि श्रम स्वीकृति प्रदान गर्न नसकिने श्रम मन्त्रालयले जनाएको छ।
_x000D_
_x000D_
सम्झौतापश्चात कामदार आपूर्तिका ‘मोडालिटी’ तय गर्न दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोली गठन हुनेछ। सोही टोलीले कामदार छनोट, प्रवेशाज्ञा, स्वास्थ्य परीक्षणलगायत विषयमा सहजीकरण गर्ने बताइएको छ।
_x000D_
_x000D_
छ महिनादेखि कामदार आपूर्ति ठप्प
_x000D_
नेपाल सरकारले विभिन्न एजेन्सीका नाममा कामदारसँग अवैध शुल्क लिदै आएको एजेन्सी खारेज गरेसँगै छ महीनादेखि मलेसियाका लागि श्रमिक आपूर्ति ठप्प छ।
_x000D_
_x000D_
मलेसिया सरकारले प्रवेशाज्ञा शुल्कबापत ७ सय रुपैयाँ मात्र तोकेको सन्दर्भमा विभिन्न एजेन्सीले स्वास्थ्य परीक्षण गर्न ३९ वटामात्र स्वास्थ्य संस्थाको एकाधिकार कायम गरी नेपाल सरकारले तोकेभन्दा बढी शुल्क लिँदै आएका थिए।
_x000D_
_x000D_
बायोमेट्रिक प्रणालीको नाममा प्रति कामदार रु चार हजार ५ सय, स्वास्थ्य परीक्षणका लागि सफ्टवेयरमा नाम दर्ता गर्ने गरी माइग्रामका नाममा ३ हजार ४ सय, राहदानी सङ्कलन गरी नेपालस्थित मलेसियाको दूतावासम्म पुर्याउने प्रयोजनाका लागि वन स्टेप सेन्टर (ओइससी)को नाममा २ हजार ८ सय, इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) को नाममा ३ हजार २ सय तथा प्रवेशाज्ञा प्रक्रियाबापत (भिएलएन)को नाममा तीन हजार २ सय गरी प्रतिकामदार १९ हजार ३२३ (मुअकर) सहित गैरकानूनी रूपमा लिने गरेका थिए।
_x000D_
_x000D_
पचासको दशकदेखि नेपाली वैदेशिक रोजगारीमा जान थालेका हुन्। हालसम्म करीब ४३ लाख नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देशमा पुगेका छन्। नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य बनेको छ।
_x000D_
_x000D_
वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीमध्ये मलेसियामा करीब ३० प्रतिशत कार्यरत रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। अझै पनि मलेसियामा करीब पाँच लाख नेपाली कार्यरत रहेको बताइएको छ। मलेसियामा सबैभन्दा बढी नेपाली सुरक्षा गार्डका रूपमा कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।