नवलपरासी– नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता बस्ती डुबानमा परेपछि २९ जनाको उद्धार गरिएको छ।
बाढीले घरहरू जलमग्न भएपछि बाहिर निस्कन नसकेका उनीहरूलाई सशस्त्र प्रहरीको टोलीले खोजी गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीका अनुसार बस्तीभित्रै पानी पसेपछि डुंगा प्रयोग गरेर उद्धार गरिएको थियो।
शुक्रबार रातिदेखि नै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको भए पनि पशुचौपाया र घर छाड्न नसक्दा केही स्थानीय बस्तीमै रोकिएका थिए। नदीको जलसतह निरन्तर बढ्दै गएपछि उनीहरू जोखिममा परेका थिए।
बाढीबाट सुस्ता क्षेत्रमा दुई सयभन्दा बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ। शुक्रबार थारू बस्तीमा मात्रै बाढी पसेकोमा पानीको सतह बढ्दै गएपछि शनिबार सिंगो सुस्ता बस्ती प्रभावित भएको हो।
स्थानीयका अनुसार यसपटक अघिल्लो वर्षको तुलनामा ठूलो बाढी आएको छ। बाढीका कारण सशस्त्र प्रहरीको क्याम्पसमेत डुबानमा परेको छ।
बस्तीका धेरै घरमा पानी पसेपछि उद्धार तथा राहतका लागि सुरक्षा टोली परिचालन गरिएको छ। परिस्थिति थप जटिल हुन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।