फाइल तस्बिर
पाल्पा– लगातारको वर्षापछि आएको पहिरोले पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरे गोलफानमा घर पुरिँदा एक महिला बेपत्ता भएकी छन्। पहिरोले दुई घरमा पूर्ण क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार केसुराम सारु मगरको ढुंगा–माटोले बनेको तीनतले घर पहिरोले पुरिँदा उनकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु बेपत्ता भएकी हुन्।
स्थानीयका अनुसार घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट पहिरो खसेर बस्तीमा पसेको थियो। पहिरोमा रामबहादुर उचईको तीनतले घरसमेत पूर्ण रूपमा पुरिएको छ।
पछिल्लो २४ घण्टामा पाल्पामै धेरै वर्षा
भारी वर्षाका कारण पाल्पामा पहिरोको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर सबैभन्दा धेरै वर्षा पाल्पामा भएको छ।
निस्दी गाउँपालिका–६ अर्चलेस्थित वर्षा मापन केन्द्रमा २६३.८ मिलिमिटर वर्षा मापन भएको छ। रामपुर नगरपालिका–गाडाँकोटमा १७९.२४ मिलिमिटर र रामपुर–१० कुमाल गाउँमा १५० मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
विभागले बढी वर्षा भएका पाल्पासहित गुल्मी, स्याङ्जा, बाँके, तनहुँ, कास्की र अर्घाखाँचीका विभिन्न स्थानमा सतर्क रहन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।