काठमाडौं – देशभर भइरहेको निरन्तरको वर्षाका कारण बाढीपहिरो तथा डुबानलगायतका विपत्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा राखिएको छ ।
आउँदो आइतबारसम्म नै देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशस्तरका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूले सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहन र विपत्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्वतयारी मिलाउन निर्देशनसमेत दिएको उल्लेख गरेको छ ।
प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकाय स्थानीय तहसँग समन्वय गरी आउन सक्ने विपत्का लागि तयारी अवस्थामा रहेका छन् ।
साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र पनि चौबीसै घण्टा सञ्चालनमा राखिएको छ । जसबाट सम्भावित विपत्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधिका साथै जीवनजललगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्नुका साथै र्यापिड रेस्पोन्स टिमलाई समेत तयारी अवस्थामा राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।