काठमाडौं– आगामी डिसेम्बरमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन १ सय ६० खेलाडीले नाम दर्ता गराएका छन्।
इपिएलमा खेल्न चाहने खेलाडीका लागि इपिएलले ९ देखि २३ असोजसम्म आवेदन खुला गरेको थियो। दर्ता गराउन जनही एक हजार रुपैयाँ शुल्क आइएमइमार्फत उठाइएको थियो। इपिएलले दर्ता गराएका खेलाडीमध्ये ७० जनालाई मात्र अक्सन (बोलकबोल) मा सहभागी गराइने जनाएको छ। दर्ता गराएका मध्ये ९० जना अक्सनमा सहभागी हुन पाउने छैनन्।
अक्सन कात्तिक ६ गते हुनेछ। मार्की (चर्चित) सहित प्रत्येक टोलीमा १५ खेलाडी हुनेछन्। १० खेलाडी अक्सनबाट छनोट गरिनेछ भने तीन जना विदेशी खेलाडी हुनेछन्। इपिएलमा ६० खेलाडी अक्सनमार्फत छनोट हुनेछन् भने १८ विदेशी खेलाडीलाई नेपाल ल्याइनेछ। एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छनोट गरिनेछ।
३ श्रेणीका खेलाडीले इपिएल खेल्न आफ्नो नाम दर्ता गराएका छन्। जसमा ३ वर्ष राष्ट्रिय टिमबाट खेलेका खेलाडी पहिलो श्रेणीमा हुनेछन् । दोस्रो श्रेणीमा उमेर समूहको राष्ट्रिय टिमबाट नेपालको जर्सी लगाएका तथा ३ वर्षभन्दा कम सयम राष्ट्रिय टिमबाट खेलेका खेलाडीलाई राखिएको छ । तेस्रो श्रेणीमा विगत ५ वर्षमा राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी पर्ने इपिएलले जनाएको छ।
एक टिममा ३ जना खेलाडी पहिलो श्रेणीका खेलाडी हुनेछन् । यो श्रेणीका खेलाडीको न्यूनतम मूल्य १ लाख रूपैयाँ रहेको छ। दोस्रो श्रेणीका ४ खेलाडी एक टिममा हुनेछन्। दोस्रो श्रेणीको खेलाडीको न्यूनतम मूल्य ७५ हजार राखिएको छ। तेस्रो श्रेणीका ३ खेलाडी एक टिममा हुनेछन्। जसको न्यूनतम मूल्य ५० हजार रुपैयाँ राखिएको छ।
यसअघि इपिएलमा भाग लिने ६ सहरका टोलीको नाम सार्वजनिक गरिएको थियो। इपिएल खेल्ने टोलीमा काठमाडौं किंग्स इलावेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स छन्।
काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा आबद्ध भएका थिए। ‘मार्की’ खेलाडीको न्यूनतम पारिश्रमिक २ लाख रुपैयाँ भएको इपिएलले जनाएको छ।
इपिएलले टिम मालिकको पनि नाम सार्वजनिक गरेको थियो। जसमा रोहित गुप्ता (काठमाडौं), किशोर महर्जन (ललितपुर), विशाल अग्रवाल (विराटनगर), आदित्य संघाई (भैरहवा), साहिल अग्रवाल (पोखरा) र किशोर भट्टराई (चितवन) छन्।
प्रतियोगिताको विजेता टोलीलाई २१ लाख पुरस्कार दिइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।