काठमाडौं– नेपाली कांग्रेसले भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै पार्टीका अधिवेशनहरू सञ्चालन गर्दा मौसमअनुकूल समय मिलाउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत अहिले देशभर पालिका तहको अधिवेशन चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरेपछि कांग्रेसले पालिका, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रका अधिवेशन सञ्चालनमा मौसमको अवस्थालाई समेत ध्यान दिन भनेको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बुधबार जारी गरेको विज्ञप्तिमा सम्बन्धित निर्वाचन अधिकृतहरूले आफ्नो मातहतका अधिवेशनहरू सञ्चालन गर्दा मौसमको अवस्था हेरी सचेत हुन र अनुकूल समय मिलाउन निर्देशन दिइएको उल्लेख छ।
कांग्रेसका अनुसार असोज ७ गतेसम्म ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटनसहित बन्दसत्र सुरु भएर निर्वाचन प्रक्रिया अघि बढेको छ। बाँकी २४१ पालिकामा भने असोज ८ र ९ गते अधिवेशन हुने कार्यतालिका छ।
पालिकास्तरको अधिवेशन सकिएपछि कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रका अधिवेशन पनि हुनेछन्। त्यसैले आगामी दिनमा मौसम प्रतिकूल भए निर्वाचन प्रक्रिया प्रभावित हुन सक्ने भन्दै समितिले सम्बन्धित निर्वाचन अधिकृतलाई सावधानी अपनाउन भनेको हो।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।