काठमाडौं– जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ गते आगलागीबाट ध्वस्त भएको काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। नयाँ भवन र संरचनासहित भाटभटेनीको १०औँ शाखा सोमबारदेखि ग्राहकका लागि खुला गरिएको हो।
शाखाको पुनः उद्घाटन गर्दै भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले विगतको घटनालाई बिर्सेर नयाँ सुरुवात गरेको बताए। उनले हजारौँ कर्मचारी, लगानीकर्ता र आपूर्तिकर्ताप्रतिको जिम्मेवारी सम्झेर कठिन परिस्थितिमा पनि व्यवसायलाई पुनः उभ्याएको बताए।
गुरुङका अनुसार आगलागीपछि भाटभटेनीका संरचना पुनर्निर्माण भइरहेका बेला आफू पनि गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिएका थिए। ‘पीआरसीए’ रोगका कारण हेमोग्लोबिन ४ सम्म झरेको अवस्थामा समेत व्यवसायमा आबद्ध कर्मचारी र साझेदारप्रतिको दायित्व पूरा गर्न आफू सक्रिय भएको उनको भनाइ थियो।
‘म झन्डै एब्सेन्ट भएको थिएँ, तर ज्यानको बाजी राखेर यसलाई उठाउन खोजेको हो,’ उनले भने, ‘मसँग हजारौँ भाइबहिनी आबद्ध हुनुहुन्छ। ममाथि अर्बौं लगानी गर्ने बैंक र मलाई विश्वास गरेर सामान दिने व्यवसायी हुनुहुन्छ। उहाँहरूलाई धोका दिनु भएन।’
गुरुङले भाटभटेनीलाई आफ्नो व्यक्तिगत सम्पत्तिका रूपमा मात्र नहेर्न आग्रह गरे। हजारौँलाई रोजगारी र राज्यलाई ठूलो मात्रामा कर योगदान गर्ने भएकाले यो देशकै सम्पत्ति भएको उनले बताए।
उनले भाटभटेनी कुनै राजनीतिक दल वा नेतासँग सम्बन्धित नरहेको दाबी गर्दै व्यवसाय पारिवारिक मेहनतको परिणाम भएको बताए। उनका अनुसार ४२ वर्षअघि श्रीमतीको गहना ३५ हजार रुपैयाँमा बेचेर १२० वर्गफुटको भाडाको कोठाबाट व्यवसाय सुरु गरिएको थियो।
आगलागीको घटनाप्रति कसैलाई दोष नदिने बताउँदै गुरुङले भविष्यमा यस्ता घटना दोहोरिन नहुने बताए। निजी क्षेत्र र व्यवसायिक सम्पत्तिको सुरक्षाका लागि सरकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।