काठमाडौं– म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म कायम राखेको छ।
सिटीले खेलमा दुईपटक अग्रता लिए पनि सन्डरल्यान्डले बराबरीमा फर्कँदै चुनौती दिएको थियो। सन्डरल्यान्डका स्ट्राइकर ब्रायन ब्रोबीले ह्याट्रिक गर्दै म्यानचेस्टर सिटीका एर्लिङ हालान्डभन्दा प्रभावशाली प्रदर्शन गरे।
तर‚ हालान्डले ८१औं मिनेटमा सिटीका लागि पाँचौं गोल गर्दै सन्डरल्यान्डको पुनरागमनको प्रयास अन्त्य गरिदिए। त्यसपछि सिटीले अग्रता कायम राख्दै खेल जित्यो।
अर्को खेलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामसँग १–१ को बराबरी खेल्दै सबै प्रतियोगितामा लगातार तीन हार बेहोर्ने अवस्था टारेको छ। म्याथियस कुन्हाले ८९औं मिनेटमा गोल गर्दै युनाइटेडलाई एक अंक दिलाए।
लिभरपुलले बोर्नमाउथलाई १–० ले पराजित गरेको छ। लिभरपुलका लागि अलेक्जान्डर इसाकले सिजनको चौथो गोल गरे।
यस्तै, लिड्स युनाइटेड र क्रिस्टल प्यालेसबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।