काठमाडौं– स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ।
एट्लेटिकोका लागि एलेजान्द्रो ग्रिमाल्डो र जोनाथन डेभिडले दोस्रो हाफमा गोल गरे। जितसँगै एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ। एट्लेटिको शीर्ष स्थानको बार्सिलोनाभन्दा ५ अंकले मात्र पछाडि छ। बार्सिलोनाले शनिबार सेभियालाई ३–१ ले पराजित गरेको थियो, जसमा राफिन्हाले ह्याट्रिक गरेका थिए।
रियल भने चौथो स्थानमा झरेको छ। लगातार ७ खेल जित्दै सिजनको सुरुआत गरेको बार्सिलोनाभन्दा रियल ६ अंक पछाडि छ।
मेट्रोपोलिटानो स्टेडियममा भएको खेलको दोस्रो हाफको अधिकांश समय रियल १० खेलाडीमा सीमित थियो। ५२औं मिनेटमा डिन हुइसेनले फाउल गरेपछि रातो कार्ड पाए। सोही फाउलमा प्राप्त पेनाल्टीलाई ग्रिमाल्डोले गोलमा परिणत गर्दै एट्लेटिकोलाई अग्रता दिलाए।
५९औं मिनेटमा डेभिडले एट्लेटिकोको अग्रता २–० बनाए। रियलका एन्टोनियो रुडिगरले ८९औं मिनेटमा गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।