काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार वडा अधिवेशनको प्रक्रिया अघि बढाएको जनाएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १ गतेदेखि देशभरका विभिन्न जिल्लामा वडा अधिवेशन सुरु भएको हो।
निर्वाचन कार्यक्रमअन्तर्गत ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, रोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दाङ, बझाङ, बैतडी, कञ्चनपुर र कैलाली जिल्लाका वडा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ।
कांग्रेसका अनुसार हालसम्म ३९ जिल्लाका ३३० वडामा अधिवेशनपछिको निर्वाचन सम्पन्न भएको जानकारी प्राप्त भएको छ।
वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यक्रमअनुसार बाँकी जिल्लाका वडा अधिवेशन पनि निरन्तर सञ्चालन हुने जनाएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कुँवरद्वारा असोज ३ गते जारी गरिएको प्रेस विज्ञप्तिमा निर्वाचन प्रक्रिया निर्धारित कार्यक्रमअनुसार अघि बढिरहेको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।