काठमाडौं– भारत र नेपालबीच व्यापार, पारवहन तथा आर्थिक सहकार्यका विषयमा छलफल गर्न गठित अन्तर–सरकारी उपसमिति (आईजीएससी)को बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ।
भदौ ३१ देखि असोज १ गतेसम्म चलेको बैठकमा दुवै देशबीचको व्यापार तथा पारवहन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको हो।
बैठकमा बजार पहुँच, व्यापार सहजीकरण, भन्सार सहकार्य, मापदण्ड, स्वास्थ्य तथा वनस्पति स्वच्छता (एसपीएस)सम्बन्धी उपाय, औषधि तथा आयुष उत्पादन, सीमा पूर्वाधार, कनेक्टिभिटी र पारवहन व्यापारलगायतका विषयमा छलफल भएको थियो।
विशेषगरी अनधिकृत व्यापार नियन्त्रण तथा व्यापार प्रक्रियालाई थप सहज बनाउने उपायबारे समेत दुवै पक्षबीच विचारविमर्श भएको जनाइएको छ।
बैठकपछि दुवै पक्षले निरन्तर संस्थागत संलग्नतामार्फत द्विपक्षीय व्यापार, पारवहन कनेक्टिभिटी तथा आर्थिक सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
भारतको विदेश मन्त्रालय, प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) तथा डीडी न्युजले समेत बैठकबारे जानकारी सार्वजनिक गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।