काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले विभिन्न देश र दाता निकायबाट प्राप्त राहत सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद न्यौपानेले हालै आफूले विमानस्थलको निरीक्षण गर्दा राहत सामग्रीहरू बेवारिसे अवस्थामा भेटिएको बताए । उनले ती सामग्रीहरूको तस्बिरसहित प्रमाण पेस गर्दै सरकारले तत्काल तिनको व्यवस्थापन गर्नुपर्ने माग गरे ।
‘मैले भर्खरै विमानस्थलको कार्गोमा अलपत्र रहेका राहत सामग्रीहरू देखेर आएँ । त्यहाँ कोरोना कालका २० कन्टेनर सामान अलपत्र छन् । यस्तै, अन्य विदेशी दाताहरूले दिएका लत्ताकपडा लगायतका अत्यावश्यक सामग्रीहरू पनि थन्किएका छन्,’ सांसद न्यौपानेले भने, ‘आधा नेपाललाई वर्ष दिन पुग्ने राहत सामग्रीहरू यसरी थन्किनु र प्रयोगमा नआउनु लज्जास्पद छ।’
सांसद न्यौपानेले सामानहरू थन्किनुको कारणबारे सम्बन्धित कर्मचारीहरूसँग बुझ्दा भन्सार लाग्छ भन्ने बहाना बनाइएको बताए । ‘कोही पनि फिर्केर नआउने र भन्सार लाग्ने झमेला देखाएर सामानलाई नष्ट हुन दिने काम भइरहेको छ,’ उनले भने ।
विपद्को समयमा आएका यस्ता सामग्रीहरूलाई भण्डारण गरेर राख्नुको साटो आवश्यक पर्ने क्षेत्रमा तत्काल पठाउनुपर्नेमा उनले जोड दिए । ती सामानहरू कसलाई आवश्यक छ, त्यो पहिचान गरी सम्बन्धित ठाउँमा तत्काल पुर्याउनुपर्ने तर विमानस्थलमा अलपत्र पारेर राख्नुको कुनै औचित्य नभएको उनको भनाइ छ ।
सांसद न्यौपानेले विमानस्थलमा अलपत्र सामग्रीहरू र देशभर पिरोलिएका नागरिकका लागि ती सामग्रीहरू मलम बन्न सक्ने उल्लेख गर्दै सरकारले तत्काल एक्सन लिनुपर्ने बताए । ‘विमानस्थलमा अलपत्र परेका सामग्रीहरूबाट नागरिकलाई पीडित भएको ठाउँमा राहत पुर्याउन सकिन्छ । मलमपट्टी गर्ने सामग्री नै नभएको समाचार सुन्न नपरोस्, सरकारले तत्काल यस्तो अवस्थाको अन्त्य गरोस्,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।