काठमाडौं– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन्।
बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत श्रीवास्तवलाई सफल कार्यकाल पूरा गरेकोमा बधाई दिँदै नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन उनले खेलेको भूमिकाको प्रशंसा गरे।
भेटमा नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा भएका प्रगति र दुई देशका जनताबीचको सम्बन्धबारे छलफल भएको थियो।
मन्त्री खनालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भारतले देखाएको ऐक्यबद्धता तथा खोज, उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति धन्यवाद व्यक्त गरे।
उनले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भावी प्रयासका लागि शुभकामना दिँदै आगामी दिनमा पनि उनलाई नेपालको असल मित्रका रूपमा रहने विश्वास व्यक्त गरे।
भेटका क्रममा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।