काठमाडौं– कोलम्बियाका मिडफिल्डर जेम्स रोड्रिग्वेजले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। उनले कोलम्बियाका लागि १३१ खेल खेल्दै ३१ गोल गरेका छन्।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमार्फत रोड्रिग्वेजले कोलम्बियाको राष्ट्रिय टोलीबाट खेल्न पाउनु आफ्नो जीवनकै ठूलो सम्मानमध्ये एक भएको बताएका छन्।
‘हामीले सँगै बाँडेका हरेक खेल, हरेक खुसी, हरेक आँसु र हरेक सपनाका लागि धन्यवाद। कोलम्बियाको राष्ट्रिय टोलीको जर्सीको रक्षा गर्नु मेरो जीवनकै सबैभन्दा ठूलो सम्मानमध्ये एक थियो,’ उनले भने।
३५ वर्षीय रोड्रिग्वेजले सन् २०११ मा कोलम्बियाको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उनले लामो समय टोलीको कप्तानीसमेत गरे। उनले कोलम्बियाका लागि तीनवटा विश्वकप र चारवटा कोपा अमेरिका प्रतियोगितामा सहभागिता जनाएका छन्।
रोड्रिग्वेज सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपबाट विश्व फुटबलमा चर्चित बनेका थिए। उक्त प्रतियोगितामा उनले ६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेर ‘गोल्डेन बुट’ जितेका थिए।
कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको उक्त विश्वकपमा उरुग्वेविरुद्ध अन्तिम १६ को खेलमा गरेको उनको भली गोलले फिफाको ‘पुस्कास अवार्ड’ समेत जितेको थियो।
क्लब फुटबलतर्फ रोड्रिग्वेजले हालै कोलम्बियाको एट्लेटिको नासियोनालसँग आगामी जुनसम्मका लागि सम्झौता गरेका छन्। उनले यसअघि मेजर लिग सकर (एमएलएस) क्लब मिनेसोटा युनाइटेडबाट खेलेका थिए।
रोड्रिग्वेजले स्पेनिस क्लब रियल मड्रिडबाट खेल्दै दुईपटक च्याम्पियन्स लिग र दुईपटक ला लिगा उपाधि जितेका थिए। उनले जर्मनीको बायर्न म्युनिख तथा इङ्ल्यान्डको एभर्टनबाट पनि खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।