काठमाडौं– कार्लोस एस्पीको निर्णायक गोलसँगै रियल मड्रिडले स्पेनिस ला लिगामा मंगलबार एल्चेलाई ३–२ ले पराजित गरेको छ।
जितसँगै रियल अंकतालिकामा बार्सिलोनासँग बराबरीमा पुगेको छ। उपाधि विजेता रियलले बुधबार घरेलु मैदानमा नवप्रवेशी रेसिङ सान्टान्डरसँग खेल्दा पुनः शीर्ष स्थानमा उक्लिने अवसर पाउनेछ।
रियलले २५औं मिनेटमा अग्रता लिएको थियो। आर्दा गुलेरले प्रहार गरेको शक्तिशाली फ्रिकिक एल्चेका गोलरक्षक मातियास डिटुरोलाई लागेर फर्किएपछि आफ्नै पोस्टमा गोल भएको थियो।
त्यसको आठ मिनेटपछि किलियन एमबाप्पेले रियलको अग्रता दोब्बर बनाए। यान डियोमन्डेको पासमा उनले नजिकैबाट गोल गरेका थिए।
तर‚ दोस्रो हाफमा एल्चेले खेलमा फर्कने प्रयास गर्यो। ७१औं मिनेटमा अबिएल ओसोरोले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। त्यसपछि ८३औं मिनेटमा फेर निन्योले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो।
तर, मध्यभाग नजिकै जुड बेलिङ्घमले विपक्षी खेलाडीलाई छलाउँदै लामो टचमार्फत एमबाप्पेलाई बल उपलब्ध गराएका थिए। एमबाप्पेले तीव्र गतिमा बल पेनाल्टी क्षेत्रमा पुर्याउँदै एस्पीलाई नजिकैबाट गोल गर्ने अवसर मिलाए। एस्पीले उक्त अवसर सदुपयोग गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।