काठमाडौं– फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा दिने भनेको धर्ना कार्यक्रम स्थगित गरिएको छ।
एन्फा सचिवालयले मंगलबार बिहान ११ बजे राखेपका उपाध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने, एक घण्टा धर्ना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेको थियो। हाल राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल श्रेष्ठ छन्।
तर, करिब डेढ घन्टा अगाडि निलम्बित प्रवक्ता सुरेश शाहले ‘ह्याट्स एप’ ग्रुपमा कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन्।‘विशेष कारणवश आज बिहान ११:०० बजे गर्ने भनिएको ज्ञापनपत्र बुझाउने, धर्ना तथा पत्रकार सम्मेलन कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराउँदछौं।यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं,’ उनले भनेका छन्।
एन्फा विगत साढे महिनादेखि फिफाको प्रतिबन्धमा छ। फिफाले एन्फाको कामकारबाहीमा तेस्रो पक्षको हस्तक्षेप भएको ठहर गर्दै गत असार ११ गते फिफा विधानको धारा १४ को उपधारा १ (आई) र उपधारा ३ अनुसार धारा १६ बमोजिम अनिश्चितकालीन निलम्बन गरेको थियो।
सन् १९७२ मा फिफाको सदस्य बनेयता एन्फा पहिलोपटक निलम्बनमा परेको हो। निलम्बनअघि फिफाले अर्को निर्वाचन सम्पन्न नभएसम्म पुरानै कार्यसमितिलाई निरन्तरता दिन निर्देशन दिएको थियो। तर एन्फा कार्यसमितिको कार्यकाल असार ६ गते नै समाप्त भइसकेको थियो।
एन्फाले गत चैत १३ गते केन्द्रीय निर्वाचन गर्ने निर्णय गरेपछि राखेपसँग विवाद बढेको थियो। राखेपले तहगत निर्वाचन सम्पन्न गर्न पटक–पटक निर्देशन दिए पनि एन्फाले त्यसलाई पालना नगरेको भन्दै निर्वाचनको दुई दिनअघि चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। पछि राखेपले जेठ १ गते निलम्बन फुकुवा गरेको थियो।
यसैबीच, विश्वकपको उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको थियो। राखेपको सिफारिसमा अध्यक्षसहित २४ जनालाई विदेश यात्रामा रोक लगाइएको थियो।
फिफाले उक्त घटनालाई एन्फाको कामकारबाहीमा सरकारी हस्तक्षेपका रूपमा लिएको थियो। सदस्य संघका प्रतिनिधिलाई स्वतन्त्र रूपमा कार्यक्रममा सहभागी हुन नदिनु हस्तक्षेप भएको ठहर गर्दै फिफाले स्पष्टीकरण मागेको थियो। तोकिएको समयमा सन्तोषजनक जवाफ नआएपछि नेपाललाई निलम्बन गरिएको एन्फाको भनाइ छ।
फिफाको प्रतिबन्धपछि नेपाल फिफा र एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गत हुने अन्तर्राष्ट्रिय फुटबल गतिविधिबाट बाहिरिएको छ। राष्ट्रिय टोली तथा नेपाली क्लबले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाएका छैनन् भने फिफाबाट मान्यताप्राप्त नेपाली रेफ्रीले पनि अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न पाएका छैनन्। फिफा र एएफसीबाट प्राप्त हुने प्राविधिक तथा आर्थिक सहयोगसमेत रोकिएको एन्फाले जनाएको छ।
एन्फा सचिवालयले नेपाली फुटबलको अन्योल अन्त्य, निलम्बन फुकुवा तथा फुटबल गतिविधि नियमित सञ्चालनको वातावरण बनाउन राखेप र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने जनाएको थियो।ब
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।