काठमाडौं– हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम लगायत पुरै पालिकामा घरपझोङ जलवायु सम्मेलन–२०८३ को तयारीसँगै छुट्टै रौनक छाएको छ। पालिकाको निर्देशन बमोजिम सम्पूर्ण गाउँलेहरूले आ आफ्नो जिम्मेवारी वहन गरेको छ।
घरपझोङ गाउँपालिकाको आयोजनामा हुने सम्मेलनको तयारीका लागि गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सम्पूर्ण जनप्रतिनिधि साँझसम्म व्यवस्थापनमा व्यस्त रहेका छन्। गाउँपालिकाका कर्मचारीहरू पनि आ–आफ्नो जिम्मेवारी सम्हाल्दै कार्यक्रमको तयारीमा जुटेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत टेम्पोमा सामान ढुवानी गर्दै गाउँपालिकादेखि कभर्डहलसम्म टेम्पोमा सामान ओसारिरहेको दृश्य देखियो। जनप्रतिनिधि र कर्मचारी मात्र होइन, घरपझोङ गाउँपालिकाका स्थानीय बासिन्दा, विभिन्न गाउँका प्रतिनिधि ,समूह तथा क्लबका सदस्यहरू पनि आ–आफ्नो गाउँमा लुङ्ता राख्न, स्वागतद्वार बनाउन तथा अन्य तयारीका काममा दिनभर व्यस्त रहे।
साँझपख विभिन्न जिल्लाबाट आएका जनप्रतिनिधिहरू पनि घरपझोङ गाउँपालिका प्रवेश गर्न थालेका छन्। कोही होटेलमा त कोही होमस्टेमा बसेका कारण जोमसोम बजार र अन्य गाउँहरू सबैमा पाहुनाहरूले भरिन थालेको छ।
अझ भन्नुपर्दा, जोमसोम, मार्फा र स्याङमा जडित स्याउको आकृतिसहितका युरोपेली शैलीका सडक बत्ती बल्न थालेपछि बजारको सौन्दर्य झनै बढेको छ। गाउँपालिकाभित्र ललितपुर महानगरपालिकाको सहयोगमा निर्माण गरिएको फाल्चामा झिलिमिली बत्तीले घरपझोङमा आउने पाहुना, सहभागी तथा अन्य आगन्तुकलाई समेत आकर्षित गरेको छ।
चारैतिर सरसफाइ, सजावट, स्वागतद्वार र लुङ्ताले सिँगारिएको जोमसोम बजार हेर्दा यति बेला बिहेको तयारीमा सजिएकी दुलहीजस्तै देखिन्छ। स्थानीयहरूको उत्साह, जनप्रतिनिधिको सक्रियता र पाहुनाहरूको आगमनले जोमसोममा छुट्टै रौनक छाएको छ।
मुस्ताङको प्राकृतिक सौन्दर्यबिच सिँगारिएको जोमसोम बजारले भोलिबाट सुरु हुने घरपझोङ जलवायु सम्मेलनको भव्यताको संकेत दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।