काठमाडौं–मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेको विद्युत् प्रसारण आयोजनाको महत्वपूर्ण खण्ड पूरा भएको छ।
मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल) ले न्यू बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो।
आइतबार उक्त खण्डको निर्माण कार्य औपचारिक रूपमा सम्पन्न भएको एमसीए–नेपालले जनाएको छ। यो प्रसारण लाइन निर्माणका लागि एमसीए–नेपालले ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो।
प्रसारण लाइनको शिलान्यास २०८२ मंसिर १० गते गरिएको थियो। निर्माण सम्पन्न भएसँगै न्यू बुटवल सबस्टेशनबाट नेपाल–भारत सीमासम्म विद्युत् प्रसारणका लागि आवश्यक पूर्वाधार विकासको एक महत्वपूर्ण चरण पूरा भएको छ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत देशको विद्युत् प्रसारण प्रणालीलाई विस्तार तथा सुदृढ गर्ने उद्देश्यले विभिन्न प्रसारण लाइन र सबस्टेशन निर्माण भइरहेका छन्। सीमासम्मको यो खण्डलाई नेपालमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणाली हुँदै सीमापार विद्युत् व्यापारका लागि आवश्यक पूर्वाधार विकाससँग जोडेर हेरिएको छ।
एमसीए–नेपालले कम्प्याक्टअन्तर्गत प्रसारण आयोजनाका बाँकी संरचनाको निर्माण तथा अन्य कामलाई समेत अघि बढाइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।