काठमाडौं– रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनसँगको उत्तरी कोरला नाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको छ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार भदौ १० अघि दैनिक औसत ४–५ वटा विद्युतीय सवारीसाधनको जाँचपास हुने गरेकोमा त्यसपछि दैनिक औसत १५ भन्दा बढी पुगेको छ। कन्टेनरतर्फ पनि दैनिक ३–४ वटाबाट बढेर १० भन्दा बढी पुगेको छ।
रसुवागढी र तातोपानी नाका बाढीपहिरो तथा नदी कटानका कारण बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तु र विद्युतीय सवारीसाधनको वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग बढेको हो। पछिल्लो तथ्यांकले कोरला नाकामा आयातको चाप सामान्य अवस्थाको तुलनामा उल्लेख्य रूपमा बढेको देखाएको छ।
मुस्ताङ भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी नाका बन्द हुनुअघि ४० दिनमा कोरला नाकाबाट १६३ वटा विद्युतीय सवारीसाधन र १३३ वटा मालवाहक कन्टेनरको जाँचपास भएको थियो। त्यसको तुलनामा भदौ १० पछि करिब १० दिनमै १३० वटा ईभी र ८८ वटा कन्टेनरको जाँचपास भएको छ।
अर्थात्, अघिल्लो ४० दिनमा भएको ईभी जाँचपासको झन्डै ८० प्रतिशत र कन्टेनरको करिब ६६ प्रतिशत जाँचपास पछिल्लो १० दिनमै भएको हो।
आयातसँगै भन्सार राजस्वमा पनि तीव्र वृद्धि भएको छ। रसुवागढी नाका बन्द हुनुअघि कोरला भन्सारबाट दैनिक औसत १ करोड ३० लाख रुपैयाँ राजस्व संकलन हुने गरेकोमा भदौ १० पछि दैनिक औसत २ करोड ८८ लाख रुपैयाँभन्दा बढी पुगेको छ। यसरी दैनिक राजस्व संकलन पनि दोब्बरभन्दा बढी भएको छ।
भदौ २५ गतेसम्म आइपुग्दा कोरला नाकाबाट ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ। शुक्रबार मात्रै ७१ कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधनको जाँचपास भएको छ।
मुस्ताङ भन्सार कार्यालयले भदौ २५ गतेसम्म १५ दिनको अवधिमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। शुक्रबार मात्रै २७ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख चुडालले बताएका छन्। भदौ २२ गतेपछि दैनिक औसत ३० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन भइरहेको उनको भनाइ छ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरला नाका हुँदै नेपाल भित्रिएका मालवस्तु तथा विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।