काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले पार्टीको आसन्न १५औँ महाधिवेशनलाई विभाजनको नभई एकताको बनाउन माग गरेका छन्।
उनले सबै पक्षको सहभागिता र निष्पक्षताको सुनिश्चितता बिना एकपक्षीय ढङ्गले गरिने महाधिवेशनको औचित्य नरहने बताए।
‘पार्टीभित्र देखिएका वादविवाद, मनमुटाव र बाँकी रहेका असहमतिका बुँदालाई घमण्ड र अहङ्कार त्यागेर सबै पक्ष लचक बनेर पार्टी एकताको पक्षमा सहमति र सहकार्य गरेर अगाडि बढ्दा मात्रै एकता महाधिवेशनको अर्थ रहन्छ,’ उनले नेपाललाइभसँग भने।
शाहीको भनाइमा महाधिवेशन एउटा पर्व, एउटा उत्सव र नेतृत्व परिवर्तनको एउटा अवसर हो।
‘तर वर्षौंदेखि कुरिरहेका जिल्लाका नेताहरूलाई जिल्ला अधिवेशनमा नेतृत्व परिवर्तन गर्न बन्देज लगाउने अनि प्रदेश अधिवेशन गर्न रोक लगाउने निर्णय गैरलोकतान्त्रिक र विधानको ठाडो उल्लङ्घन हो,’ उनले टिप्पणी गरे।
जिल्ला र प्रदेशमा परिवर्तन नचाहिने तर आफू हुने केन्द्रको पदमा मात्रै परिवर्तन चाहिने अनौठो तरिका कांग्रेसमा देखिएको उनको भनाइ छ।
‘त्यसैले जिल्ला र प्रदेश अधिवेशनबिना हतार–हतार कागजी महाधिवेशन गरेर विशेष महाधिवेशनमा पार्टी कब्जा गरेजस्तै अहिले पनि आफ्ना गुटका मान्छे मात्रै जम्मा गरेर दुई–चार दिन हल्लाखल्ली गर्नुको कुनै अर्थ रहन्न,’ उनले आक्रोशित हुँदै भने।
सबैलाई सहमतिमा ल्याएर सम्पूर्ण एकताको महाधिवेशन गर्न सुझाव दिँदै उनले भनेका छन्– ‘मनोमानी ढङ्गले एकलकाँटे तरिकाले कर्मकाण्डी महाधिवेशनको ढोल मच्चाउनु भनेको कांग्रेसलाई थप कमजोर, क्षतविक्षत, छिन्नभिन्न र आजसम्म बचेको कांग्रेसको इतिहासलाई समाप्त पार्नु हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।