काठमाडौं– रसुवा भोटेकोशी विपद्बाट प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले ४६ जना जनशक्ति तयार गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भदौ २४ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा मनोसामाजिक परामर्शसम्बन्धी प्रशिक्षण आयोजना गरेको थियो। प्रशिक्षणमा विभिन्न क्षेत्रका ४६ जना सहभागी भएका थिए।
प्रशिक्षणमा सहभागीहरू विपद्बाट विस्थापित परिवारहरू रहेका आश्रयस्थलमा पुगेर प्रभावितलाई आवश्यक मनोसामाजिक परामर्श दिने कांग्रेसले जनाएको छ।
प्रशिक्षणका क्रममा बाढी प्रभावितले भोगिरहेका मानसिक तनाव तथा समस्याबारे छलफल गरिएको थियो। सहभागीहरूले विशेषगरी बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक प्राकृतिक विपत्तिपछि मानसिक रूपमा बढी प्रभावित र जोखिममा रहेको बताएका थिए।
प्रशिक्षणमा डा. प्रभाकर पोखरेल, डा. रविन बस्नेत तथा मनोविद् कपिल शर्मा, गृष्मा पनेरू र प्रकाश लामिछानेले सहजीकरण गरेका थिए।
कांग्रेसले विपद्पछि प्रभावित नागरिकको मानसिक स्वास्थ्यमा देखिन सक्ने समस्या न्यूनीकरण गर्न प्रशिक्षित जनशक्तिलाई आश्रयस्थलमा परिचालन गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।