काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ।
आपतकालीन अवस्थामा उद्धार गरिएका तथा होल्डिङ सेन्टरमा राखिएका प्रभावित परिवारलाई उनीहरूको इच्छाअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण थालिएको हो।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली परिचालन गरी ‘कोबो टुलबक्स’मार्फत ‘आवश्यकता मूल्याङ्कन फारम’ प्रयोग गरेर विवरण संकलन गरिरहेको छ।
सर्वेक्षणमार्फत प्रभावित व्यक्ति तथा परिवारको विवरणसँगै उनीहरूको घर पूर्ण वा आंशिक रूपमा क्षति भएको अवस्था, दिवंगत तथा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने रुचि, जग्गाको उपलब्धता तथा स्थानान्तरणका लागि उपयुक्त विकल्पबारे जानकारी संकलन गरिनेछ।
त्यसैगरी खानेपानी, सरसफाइ तथा प्रभावित परिवारलाई आवश्यक अन्य सेवासुविधाको अवस्थासमेत सर्वेक्षणबाट पहिचान गरिनेछ।
सरकारले होल्डिङ सेन्टरमा रहेका प्रत्येक परिवारको आवश्यकता पहिचान गरी त्यसैका आधारमा अस्थायी बसोबाससम्बन्धी योजना कार्यान्वयन गर्ने जनाएको छ।
एक साताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका अन्य प्रभावित परिवारको पनि यही फारममार्फत आवश्यकता मूल्याङ्कन गरिनेछ।
सरकारले केही हप्ताभित्र प्रभावित परिवारलाई उनीहरूको आवश्यकता र इच्छाअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।