कास्की– अन्नपूर्ण गाउँपालिका–११ मा रहेको किम्रुङखोलाको बहाव बुधबार बिहानदेखि सामान्य अवस्थामा फर्किएको छ। मोदी खोलाको सहायक नदी किम्रुङखोलामा पानीको बहाव अचानक घटेपछि खोला कतै थुनिएको हुनसक्ने आशंका गरिएको थियो।
अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार अहिले खोलामा पानी पहिलेकै अवस्थामा बगिरहेको छ। ‘माथिल्लो क्षेत्रमा पहिरो गएर खोला थुनिएको हो कि भन्ने विषयमा बुझ्ने काम भइरहेको भए पनि हाल तत्काल जोखिम देखिएको छैन,’ उनले भने।
मंगलबार साँझदेखि पानीको बहाव घटेपछि स्थानीय प्रशासन र जनप्रतिनिधिले रातभर उच्च सतर्कता अपनाएका थिए। सम्भावित जोखिमलाई ध्यानमा राख्दै मोदी र किम्रुङखोला आसपासका नदी तटीय क्षेत्रमा स्थानीयलाई सचेत गराइएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीले वीरेठाँटी, नयाँपुल तथा पर्वतका पातीचौर र डिमुवा क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको थियो। सम्भावित बाढीको जोखिमका कारण केही स्थानीय राति घर छाडेर सुरक्षित स्थानमा समेत पुगेका थिए।
अहिले भने खोलाको बहाव पूर्ववत् भएपछि तत्कालका लागि जोखिम नरहेको गुरुङको भनाइ छ। यद्यपि माथिल्लो क्षेत्रमा पहिरोको अवस्था बुझ्ने काम भइरहेको छ।
किम्रुङखोलामा गत असार २८ गते पनि अचानक बाढी आएको थियो। उक्त बाढीले पुल बगाउनुका साथै होटलहरूमा समेत क्षति पुर्याएको थियो।
त्यसपछि आएको मोदी खोलाको बाढीका कारण अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कविच्छेद भएका छन्। वीरेठाँटी–घान्द्रुक सडकसमेत तीन सातादेखि अवरुद्ध छ। हाल वीरेठाँटी क्षेत्रमा सडक पुनर्निर्माणको काम भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।