म्याड्रिड (एजेन्सी)– आन्द्रे गोमेसलाई एट्लेटिको म्याड्रिड विरुद्ध सुरुदेखि नै खेलाउने प्रशिक्षक इर्नेष्टो भाल्भेर्डेको निर्णयप्रति बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसी असन्तुष्ट देखिएका छन्।
भाल्भेर्डेले गएराती भएको खेलमा पुरै ९० मिनेट गोमेसलाई मौका दिएका थिए। १–१ गोलले बराबरीमा समाप्त भएको यो खेलमा गोमेसको प्रदर्शन औसत थियो। पोर्चुगलका गोमेसलाई गत सिजन भेलेन्सियाबाट पूर्व प्रशिक्षक लुइस एनरिकले बार्सिलोना भित्र्याएका थिए।
उनको खेल्ने शैलीको विषयलाई लिएर पहिलेदेखि नै बार्सिलोनाका अन्य खेलाडीले आपत्ति जनाउँदै आइरहेका छन्। अझ, मेसीलगायत अन्य स्टार खेलाडी उनको खेल बार्सिलोनाको ‘स्ट्याण्डर्ड’ अनुरुप नभएको मान्छन्।
शनिबार राती गोमेसको कमजोर प्रदर्शनपछि सोशल नेटवर्कमा विभिन्न खाले प्रतिक्रिया आएको छ। बार्सिलोनाका फ्यानहरुले उनको विषयमा कमेन्ट गरेका छन्, ‘उनलाई अब नखेलाउनु।’
मेसीलगायत केही खेलाडी प्रशिक्षक भाल्भेर्डेले गोमेसको खेलमा के देखे? भनेर अन्यौलमा छन्। खेलको दौरान दबाब सिर्जना गर्दा अग्रपंक्तिमा रचनात्मक सहयोग नपाएकोमा मेसी प्रशिक्षकको निर्णय प्रति असन्तुष्ट छन्। बार्सिलोनाको बेन्चमा प्रभावशाली खेलाडी डेनिस सुआरेज र पाउलिन्हो हुँदाहुँदै उनलाई मौका दिने निर्णय मेसीलाई मन परेन्।
वान्डा रंगशालामा एट्लेटिकोसँग अंक बाड्नु परेपछि मेसी असन्तुष्ट हुँदै मैदानबाट बाहिरिएको प्रष्ट देखिन्थ्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।